साझट्युब : १२ जेठ, काठमाडौं ।
यस वर्ष विश्व चर्चित अमेरिकी म्यागजिन फोर्ब्सको प्रभावशाली युवाको सूचीमा नेपाल बाट पनि पाँचजना युवा छानिएका छन् ।
उक्त सूचीमा नेपाल बाट सुजित पाठक, सुमित दाहाल, ऐश्वर्या रानी सिंह, निरज काफ्ले र सन्तोष पाण्डे परेका छन् ।
एसियाका ‘३० अन्डर ३० एसिया’ अर्थात् ३० वर्ष मुनिका ३० जना प्रभावशाली एसियाली युवाहरुको सूची सार्वजनिक गरेसँगै नेपालबाट पाँचजना छानिएका हुन् ।
३० वर्ष मुनिका ३० जना उद्यमी, सामाजिक काममा सक्रिय, नेतृत्वदायी र समाजमा सकारात्मक भूमिका निर्वाह गरेका युवाहरु फोर्ब्सको ३० अन्डर ३० एसियामा छानिएका हुन् ।
यो सूचीमा पर्न सफल २७ वर्षीय सुमित दाहाल हुन् । उनि नासा गोडार्ड स्पेस फ्लाइट सेन्टरका प्रयोगात्मक एस्ट्रोफिजिसिस्ट र पोस्ट डक्टरल हुन् । उनले ब्रह्माण्डको उत्पत्ति र विकासको अध्ययनका लागि टेलिस्कोप निर्माण गरेका छन् ।
यस्तै, २९ वर्षीय सुजित पाठक कन्जुमर टेक्नोलोजी विधामा यो सूचीमा परेका हुन् । उनी इनग्रेल नेपालका सह–संस्थापक हुन् । यो संस्थाले नेपालको ८ सयभन्दा बढी विद्यालयमा डिजिटल सहायता पुर्याउँदै आएको छ ।
यस्तै, २८ वर्षकी ऐश्वर्य रानी सिंह सोसल इम्प्याक्ट विधाबाट यो सूचीमा परेकी छिन् । उनी पुतली नेपालकी संस्थापक बोर्ड अध्यक्ष हुन् । यो संस्था महिनावारी स्वच्छता शिक्षा र प्रशिक्षणमा केन्द्रित छ । उनी सोसल इम्प्याक्ट विधामा सूचीकृत भएकी हुन् ।
यस्तै रिटेल एन्ड इ–कमर्स विधामार्फत् सूचीमा पर्न सफल निरज काफ्ले र सन्तोष पाण्डे अफरिङ ह्याप्पिनेसका सह–संस्थापकहरु हुन् । २८ वर्षीय निरज र २५ वर्षीय सन्तोषले सञ्चालनमा ल्याएको संस्थाले उपहार र सरप्राइज प्याकेज डेलिभरी गरेर खुसी बाँड्ने काम गर्छ ।