असार १० सम्म विभाग गठन गर्ने तयारी : सभापति देउवा

122

साझाट्युव : ७ असार, काठमाडौं ।

प्रधानमन्त्री साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असार १० गतेभित्रै विभाग गठनको तयारी सुरु गरेका छन् ।

असार १० गते नवनिर्वाचित कार्यसमितिले सपथ लिएको ६ महिना पुराहुने भएकाले त्यो भन्दा अगाडि नै देउवाले विभाग गठन गर्ने तयारी गरेका छन् ।

 

विधानको नियम अनुुसार विभाग तथा समितिहरु महाधिवेशन पश्चात् ६ महिना भित्र गठन गरिसक्नुपर्ने व्यवस्था रहेको छ । त्यस्तै पुस १० गते सपथ लिएको अनुसार असार १० गते नयाँ कार्यसमितिको ६ महिना पुरा हुन्छ ।

सभापति देउवाले विभाग गठनका निम्ति तयारी थालेको शीर्ष तहका एक नेताले बताए । ‘सपथ लिएको दिनदेखि असार १० गते निर्वाचित कार्यसमितिको छ महिना पुग्छ । असार १० अघि नै विभाग गठनको तयारी गरेको छ,’ ती नेताले बताए ।

 

उनका अनुसार सभापति देउवाले सबै विभागमा एकैपटक गठन गर्ने छैनन् । सुरुमा ७/८ वटा विभाग गठन हुनसक्ने उनले भनेका छन् ।

कांग्रेसको विधान बमोजिम २८ विभागको व्यवस्था छ । विभागमा बढीमा ५१ सदस्य रहने प्रावधान रहेको छ । प्रमुख, उपप्रमुख, एक सचिव र सदस्यहरुको नियुक्ति पार्टी सभापतिले गर्ने व्यवस्था रहेको छ ।

विधान बमोजिम विभागहरु गठन गर्नका निम्ति सभापति देउवालाई भेटेर महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सोमबार ध्यानाकर्षण गराएका थिए । विभाग गठन, केन्द्रीय समितिको बैठक आह्वान, भ्रातृ संस्था गठन तथा पूर्णता लगायतका विषयमा सभापतिसँग छलफल भएको महामन्त्री शर्माले बताए ।

देउवालाई दुई महामन्त्रीले मंगलबार फेरि भेट्ने भएका छन् । भेटमा पार्टीको आन्तरिक विषयमा छलफल हुने महामन्त्री शर्माले बताएका छन् ।

अघिल्लो कार्यकालमा देउवाको विधान विपरीत विभाग थपेको भन्दै एक पक्षले विरोध समेत गरेको थियो । चार वर्षे कार्यकाल सकिएपछि देउवाले ४७ सदस्यीय विभाग बनाएका थिए ।

LEAVE A REPLY