फोहोर फाल्न पुगेका टिपरलाई बञ्चरेडाँडामा अवरोध गरेपछि स्थानीय र प्रहरीबीच झडप

168

साझट्युब : २४ जेठ, काठमाडौं ।

काठमाडौँको फोहोर फाल्न पुगेका टिपरलाई बञ्चरेडाँडामा अवरोध गरेपछि स्थानीय र प्रहरीबीच झडप भएको छ । स्थानीय जनप्रतिनिधिसँग काठमाडौंमा सहमति भएपछि फोहोर लिएर बन्चरेडाँडातर्फ गएका सवारी साधन रोकिएपछि प्रहरी परिचालन गरिएको हो ।

सोमबार साँझ फोहोर फाल्ने सहमति भएपछि मंगलबार फोहोर बोकेर बन्चरेडाँडा गइरहेका सवारी साधनलाई स्थानीय वासिन्दाले ठाउँ-ठाउँमा रोकेका थिए ।

शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबारबाट काठमाडौंको फोहोर बिसर्जन गर्ने सहमति भएको थियो ।

सहरी विकास मन्त्रालयका तर्फबाट तीन र ६ वटा कामको विवरणमा प्रतिवद्धता जनाएसँगै आन्दोलनरत पक्षले फोहर बिसर्जन गर्न दिने निर्णय गरेको थियो। सहमतिअनुसार सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षमा प्रभावित क्षेत्रका पाँच वटा सडक निर्माणका लागि ४२ करोड ५० लाख, नदी नियन्त्रण,सामुदायिक भवन मन्दिर निर्माण र वृक्षरोपण कार्यक्रमका लागि एक करोड ७० लाख विनियोजन गर्ने उल्लेख थियो ।

त्यस्तै, वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन प्राप्त भएपछि अधिग्रहण गर्नुपर्ने जग्गा एकिन गरी प्रक्रिया सुरु गर्ने, सिफारिसको आधारमा प्रभावित क्षेत्रको स्थायी बासिन्दा लागि १० शय्याको अस्पताल सञ्चालनका लागि सरकारलाई अनुरोध गर्ने सहमति पनि भएको छ । तर वार्ता टोलीको निर्णयलाई स्थानीयले अस्वीकार गर्दा फोहोर व्यवस्थापनमा समस्या भएको हो ।

LEAVE A REPLY