साझट्युब : २३ जेठ , काठमाडौं ।
बलात्कार अनि यौनजन्य हिंसाको घटनामा हदम्यादको प्रावधान तत्काल संशोधन नगर्ने भएको छ । सोमबार संघीय संसद्मा यौन हिंसाविरुद्धको ऐनलाई संशोधन गर्न पेस गरिएको विधेयकमाथिको छलफलका क्रममा सांसदहरूबाट उठेका प्रश्नहरूको उत्तर दिने क्रममा कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले बलात्कार तथा यौनजन्य हिंसाको घटनामा तत्काल हदम्यादको प्रावधान हटाउन उपयुक्त नभएको बताएका छन् ।
उनले कुनै एउटा परिघटनालाई हेरेर कानुन संशोधन गर्न नसकिने बताए हुन् । ‘हामी क्रमशः समाजको परिवर्तन र समाजमा आएका चुनौतीसँगै कानुन सुधार गर्दै गइरहेका छौँ । कानुन सुधार गर्दा हामीले एउटा परिघटनादेखि प्रभावित भई कानुन निर्माण गर्ने क्रममा समाजका ती सवालमाथि छलफल र अध्ययन गरेर मात्र कानुन सुधार गरिनेछ, उनले भने, ‘समाजमा कानुन भएर मात्र हुँदैन । स्वर्गमा कानुन हुँदैन । बाख्रा बाघसँग बस्छन् । नर्कमा कानुन नै कानुन मात्रै हुन्छ ।’