
साझट्युब : ७ जेठ, काठमाडौं ।
आठ वर्ष पहिला सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेको आरोपमा प्रहरीद्वार आयोजक मनोज पाण्डे पक्राउ परेका छन् ।
शनिबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पाण्डेलाई पक्राउ गरेको प्रहरी उच्च स्रोतले बताएको हो ।
आठ वर्ष अघि २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी रहेकालाई होटलमा बोलाएर बलात्कार गरेको आरोपमा पाण्डेलाई पक्राउ गरेको छ ।
त्यसैगरि पाण्डेले बलात्कारपछि फोटो र भिडियो बनाएर ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म लगातार यौन शोषण गरेको घटना पीडित आफैले सार्वजनिक गरेपछि घटनाबारे छानविन गर्नलाइ दबाव दिएको थियो ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा पनि यो विषयले स्थान पाएको थियो । सांसदले छानविनको माग गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई रुलिङ गरेका थिए ।
त्यस्तै प्रहरी प्रधान कार्यालयले शुक्रबार प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरको नेतृत्वमा घटनाबारे छानबिन गर्नकोलागि पाँच सदस्यीय समितिसमेत गठन गरेको छ ।
हाल २४ वर्षकी ती युवती बलात्कार अनि यौन शोषण भएकोबेला १६ वर्षकी मात्र थिइन् ।
पीडितले बुधबार सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो क्लिप सार्वजनिक गर्दै आठ वर्ष पहिलाको सौन्दर्य प्रतियोगिताका आयोजक देखि भएको बलात्कारको घटनाबारे बताएकी थिइन् ।
तर, जबरजस्ती करणीसम्बन्धी कसूरमा उजुरीका निम्ति एक वर्ष हदम्याद भएका कारण कानूनी कारबाही अघि बढाउन जटिलता देखिएको प्रहरीले भनेको थियो । त्यसबारे जानकारीपाएपछि उनले पुनः विक्षिप्त हुँदै अर्को भिडियो पनि सार्वजनिक गरेकी थिइन् ।
त्यस्तै जबरजस्ती करणीको मुद्दालाइ हदम्याद हटाउन माग गर्दै युवाले स्वतः स्फूर्तरुपमा भेला भएर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्ना दिएको थियो ।
राजधानी भन्दा बाहिर पोखरा, झापालगायतका विभिन्न शहरमा पनि उनको न्यायका निम्ति भन्दै प्रदर्शन भयो ।