साझट्युब : १८ जेठ काठमाडौं ।
बलिउडका चर्चित गायक {‘केके’} कृष्णकुमार कुन्नथको गएराति मंगलबार कोलकातामा निधन भएको छ। ‘केके’ ५३ वर्षका थिए । स्टेजमा ‘केके’ का नामले परिचित उनी मंगलबार कोलकाताको एउटा कलेजको कार्यक्रममा प्रस्तुति दिने क्रममा नै बिरामी भएका थिए ।
गए राति कोलकाता अडिटोरियमको नजरुल मञ्चमा प्रस्तुति दिँदै गरेका केके, जुन प्रस्तुति उनको जीवनकै अन्तिम प्रस्तुति भयो । तस्बिर : केकेको फेसबुक पेजबाट
भारतीय सञ्चारमाध्यमका अनुसार कन्सर्ट सकेलगत्तै उनी होटेल फर्किएका थिए । होटेलमा उनी ढलेको र लगत्तै अस्पताल लगिएत पनि चिकित्सकले मृत घोषित गरेको बीबीसी हिन्दीले बताएको छ ।
अस्पतालमा पुगेका पश्चिम बंगाल सरकारका ऊर्जामन्त्री अरुप विश्वासका अनुसार चिकित्सकहरूले केकेको निधन हृदयघातबाट भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेका हुन् ।
तमिल, तेलुगु, कन्नड, मराठी, बांग्ला र गुजराती चलचित्रमा थुप्रै गीत गाएका केके कोलकातास्थित गुरुदास कलेजको कार्यक्रममा सहभागी
हुन आएका थिए । निधनभन्दा अगाडि उनको इन्स्टाग्राम पेजमा कोलकाता अडिटोरियममा आयोजित कन्सर्टका भिडियो र तस्बिर पोस्ट गरेका छन् ।
सन् १९९६ देखि गायनमा करिअर सुरु गरेका उनको पहिलो एल्बम ‘पल’ सन् १९९९ मा सार्वजनिक भएको थियो । चलचित्रमा भने सलमान खान, ऐश्वर्या राय र अजय देवगन अभिनित ‘हम दिल दे चुके सनम’ बाट उनको गायन यात्रा सुरु भएको थियो । ‘तडप तडप’ बाट आफूलाई अब्बल गायका रूपमा सावित गरेका केकेले त्यसपछि भने कहिल्यै पछाडि फर्केर हेर्नु परेन ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि केकेको निधनमा दु:ख व्यक्त गरेका छन् । मोदीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘… केकेको आकस्मिक निधनले दु:खी छु । उनका गीतमा अलग-अलग भावना देखिन्थे। उनका गीतले हरेक उमेरका मानिसका मन छुन्थे । उनलाई उनकै गीतमार्फत सम्झिइनेछ । परिवार र प्रशंसकप्रति म समवेदना प्रकट गर्दछु ।’ त्यस्तै बलिउडका अन्य कलाकारले समेत उनको निधनका दु:ख व्यक्त गरेका छन् । केकेका श्रीमती, एक छोरा र एक छोरी छन् । छोरा नकुल र छोरी तमारा पनि सांगीतिक क्षेत्रमै सक्रिय छन् ।
केकेका चर्चित १० गीत
१. तु जो मिला, बजरंगी भाइजान
२.अजब सी, ओम शान्ति ओम
३.क्या मुझे प्यार है, वो लम्हे
४. हमको प्यार हुवा, रेडी
५.पल, पल एल्बम
६.दिल क्यों येह मेरा, काइट्स
७. लबों को, भूल भुलैया
८.बीते लम्हें, द ट्रेन
९.तडप तडप, हम दिल दे चुके सनम
१०.दस बहाने, दस