साझाट्युव : २९ वैशाख, काठमाडौं ।
आगामी जेठ १ गते आइतबारबाट बुद्ध एयरले देशभरको ६ ठाउँमा रात्रीकालीन उडान सेवा भर्ने भएको छ ।
उडान हुने ठाउँ जनकपुर, विराटनगर, नेपालगञ्ज, भैरहवा, भद्रपुर र सिमरा रहेका छन् भने सस्तोमा उडान सेवा बिस्तार गर्न लागेको बुद्ध एयरले जनाएको छ ।
रात्रीकालीन उडान सेवा ८ बजेदेखि हुनेछ । दैनिक कामकाजमा व्यस्त यात्रुका लागि रात्रीकालीन उडान आकर्षक हुने बुद्ध एयरले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । रात्रीकालीन उडान बिहान र दिउँसोको तुलनामा सहज, सरल र सस्तो हुने पनि विज्ञप्तिमार्फत प्रस्ट पारेको छ ।
एयरले रात्रीकालीन उडान हुने गन्तव्यमा त्यहाँको प्रदेश र स्थानीय सरकारसँग सार्वजनिक यातायातको सुविधाको लागि अनुरोध गरेको छ । यात्रुहरूको थप आवतजावतले स्थानीयस्तरमा रोजगारीमा सिर्जना हुने र राजस्व वृद्धि हुने बुद्ध एयरले विश्वास लिएको छ ।
एयरले काठमाडौँमा ‘टुटल’ सँग समन्वय गरि रात्रीकालीन उडान भर्ने यात्रुलाई लक्षित गरी ट्याक्सीमा आकर्षक छुटको अफर पनि ल्याउन लागेको छ ।
यस्तै, बुद्ध एयरले भैरहवाबाट विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, नेपालगञ्ज र धनगढीमा उडान भर्ने योजना राखेको छ ।