महानगरपालिकाको मेयरका लागि र्‍यापर बालेन शाहको उम्मेदवारी

166

साझाट्युव : बैशाख ११,काठमाडौँ ।

काठमाडौं महानगरपालिकाको मेयरका लागि र्‍यापर बालेन शाहले उम्मेदवारी दर्ता गराएका छन् ।

राष्ट्रिय सभा गृहमा स्थापना गरिएको काठमाडौं महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

उनले उम्मेदवारी दर्ता गराउनुअघि २८ बुँदे घोषणा पत्र सार्वजनिक गरेका थिए । जस अन्तर्गत शिक्षामा सूचना प्रविधि, सीप, उद्यमशीलतालाई जोड दिने, स्वास्थ्यमा प्रत्येक वडामा नियमित स्वास्थ्य परीक्षणका लागि क्लिनिकको सुरुवात गर्ने, ७० वर्ष माथिका नागरिकको उनीहरुकै घरमा निःशुल्क स्वास्थ्य परीक्षण गर्ने लगायतका विषय समावेश छन् ।

साहले ‘आइडिया बैंक’ को अवधारणा पनि ल्याएका छन् । जहाँबाट अदक्ष र दक्ष जनशक्तिहरुको तथ्याङ्क संकलन गरी रोजगारी र उद्यमशीलताका अवसरहरु खोज्ने, स्थानीय उत्पादन, साना र घरलु उद्योगमा जोड दिने भनिएको छ । आइडिया बैंकमार्फत युवाहरुलाई व्यक्तिगत करिअर मार्ग पत्ता लगाउन परामर्श र कोचिङ दिने पनि शाहको घोषणापत्रमा उल्लेख छ ।

प्रदूषण नियन्त्रण, फोहोर व्यवस्थापनसँगसँगै काठमाडौंको संस्कृतिको थप विकास गर्ने र सम्पदा संरक्षण गर्ने उनको प्रतिवद्धता छ । खुला ठाउँलाई हरियाली बनाउने, जन्मदर्ता, विवाहदर्ता, मृत्युदर्ताको प्रमाणपत्र घरमै पुगेर दिने, वृद्ध भत्ता घरमै गएर दिने उनको योजना छ ।

पूर्वाधार विकास, यातायात व्यवस्थापन, पानीको व्यवस्थापन गर्ने लगायतका विषयलाई पनि उनले घोषणापत्रमा समावेश गरेका छन् ।

सुरक्षा अन्तर्गत अपराध नियन्त्रण गर्न काठमाडौंमा प्रारम्भिक चरणमा १० हजार सीसीटीभी जडान गर्ने उनको प्रतिवद्धता छ । नगरपालिका प्रहरीको संख्या बढाउने पनि उनको घोषणा छ ।

LEAVE A REPLY