साझट्युब : ३ जेठ, काठमाडौं ।
मंगलबार प्रतिनिधि सभाको बैठक बस्दैछ । संसद्को एघारौं अधिवेशन आज ४ बजेदेखि प्रारम्भ हुन लागेको हो । त्यसअघि साढे २ बजे नयाँ बानेश्वरस्थित शंकर हलमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।
संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्ने कार्यसूची रहेको छ ।
प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपतिको पत्र पढेर सुनाउने, राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । यस्तै प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यसूची रहेको छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ पेश गर्ने, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ पेश गर्ने कार्यसूची रहेको छ ।
यो बजेट अधिवेशन पनि हो । आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेट २०७९/०८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव राख्नेछन् ।