अमेरिकाले युक्रेनलाई घातक हतियार दिने

387

साझाट्युव : चैत ३, एजेन्सी।

अमेरिकाले युक्रेनलाई रुसविरुद्ध लड्नको निम्ति अन्य थप सैन्य सहायता उपलब्ध गराउने भएको छ । सो सहायता प्याकेजमा घातक हतियारहरु रहेको बताइएको छन् ।

अमेरिकाले सहायता प्याकेजमा ८ सय एन्टी एयरक्राफ्ट सिस्टम, ९ हजार आर्मर सिस्टम, ७ हजार साना हतियार र १०० वटा ड्रोन सहयोग गर्ने अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएको छ ।

समाचार एजेन्सी एपीले दाबी गरेअनुसार सैन्य सहायताको निर्णयमा स्विचब्लेड-३०० ड्रोन लगायतका घातक हतियार अमेरिकाले युक्रेनलाई सहयोग गर्ने छ । जसले धेरै टाढा सम्मका दुश्मनमाथि सटिक प्रहार गर्न सक्नेछ ।

बुधबार मात्रै युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले अमेरिकी सांसदहरुलाई भर्चुअल रुपमा सम्बोधन गरेका थिए भने सम्बोधनपछि अमेरिकी सांसदहरुले उठेर जेलेन्सीप्रति सम्मान व्यक्त गरेका थिए । त्यसकोलगत्तै अमेरिकाले मिसाइल लगायका सैन्य सहायता युक्रेनलाई उपलब्ध गराउने चर्चा सुरु भएको हो ।

बीबीसीले जनाए अनुसार जेलेन्सीको सम्बोधनको केही घण्टालगत्तै अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई अतिरिक्ति सैन्य सहयोगमा मन्जुरी दिएका थिए । साथै,अमेरिकाको युक्रेनमा सैन्य सहयोगको राशी बढेर एक अर्ब डलर समेत पुगेको छ ।

रुसले युक्रेनमा आक्रमण थालेपछि अमेरिकाले त्यसको घोर विरोध गर्दै प्रतिबन्ध घोषणा गरिसकेको छ । पत्रकारहरुसँगको भेटमा बुधबार मात्रै बाइडनले पुटिनलाई ‘युद्ध अपराधी’को संज्ञा दिएका छन् । यस्तो अभिव्यक्तिको रुसले अस्वीकार्य र अक्षम्य भनेर आलोचना पनि गरेको छ ।

यदि अमेरिकाले युक्रेनलाई थप सैन्य सहयोग गरेमा र अमेरिकी राष्ट्रपति बाइडनको पछिल्लो अभिव्यक्तिले रुस-युक्रेन युद्ध अझै लम्बिने अनुमान गरिएको छ ।

LEAVE A REPLY