असारभित्र इम्बोस्ड नम्बर राखिसक्नुपर्ने निर्णय फिर्ता लिन र बाहिरका योजना काटेर भए पनि फोहरको समस्या समाधान गर्नुपर्ने थापाको आग्रह

144

साझट्युब : २४ जेठ, काठमाडौं ।

नेपाली कांग्रेस महामन्त्री एवम् सांसद गगनकुमार थापाले इम्बोस्ड नम्बर प्लेट राख्नका लागि यातायात कार्यालयको लाइनमा बस्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई सुझाव दिएका छन् ।

शहरी विकास मन्त्रालयको बजेटमाथि संसदमा भएको छलफलमा भाग लिँदै सांसद थापाले असारभित्र इम्बोस्ड नम्बर राखिसक्नुपर्ने निर्णय फिर्ता लिन आग्रह गरे ।

‘काठमाडौंमा यातायात कार्यालयहरुमा जे खालको अवस्था छ, एकपटक मन्त्री नभई साधारण नागरिक भएर आफ्नो गाडी लिएर इम्बोस्ड नम्बर प्लेट बदल्नका लागि लाइनमा बस्नुभयो भने नागरिकले कति सास्ती पाइरहेको छ भन्ने अनुभूति हुन्छ’, थापाले अघि भने, ‘यति धेरै नागरिकलाई दुख दिन मिल्दैन, पाइँदैन । यातायात कार्यालयले सक्दैन, असारभित्र असम्भव छ ।’

असारभित्र इम्बोस्ड नम्बर राखिसक्नुपर्ने निर्णय फिर्ता लिन आग्रह गरेका उनले ठेक्का सम्झौता लगायतका विषयमा सरकारले जवाफ दिनुपर्ने बताए ।

यस्तै बजेट फ्लाई ओभर र अन्डर पासभन्दा अहिले फोहर व्यवस्थापन गर्नुपर्ने पहिलो प्राथमिकता भएको उनको भनाइ छ ।
भौतिक पूर्वाधार मन्त्रालयको यस पटकको बजेटमा काठमाडौँमा फ्लाई ओभर र अन्डरपास बनाउने भनिएको छ,’ उनले भने, ‘फोहरको समस्या हल गर्न सहरी विकास मन्त्रालयको पैसाले पुग्दैन । बञ्चरेडाँडा डाँडा र सिसडोलमा हामीले गरेका बाचा र प्रतिज्ञा पुरा गर्न अर्बौ रुपैयाँ चाहिन्छ । यो पटक काठमाडौँमा फ्लाइओभर नबनाएपनि हुन्छ । अन्डरपास नबनाए पनि हुन्छ ।’

उनले सहरी विकास मन्त्री र महानगरको नेतृत्वले गरेको कामको प्रशंसा गर्दै अहिले भएको समस्या सदनमा आएर राख्न सहर विकास मन्त्री रामकुमारी झाँक्रीलाई आग्रह गरे । ‘सहरी विकास र महानगर दुवैको नेतृत्वले प्रशंसा योग्य काम गरिरहनु भएको छ,’ उनले भने, ‘ यसकै कारण हिजो मात्रै समझदारी भएर फोहर उठ्न थालेको छ । तर आज बिहानबाट फेरि फोहर उठ्ने कुरा बन्द भएको छ । केही बल प्रयोग पनि भएको छ । माननीय सहरी विकास मन्त्रीलाई यहाँ आएर सदनलाई जानकारी गराउन आग्रह गर्छु । के गर्‍याे भनेर सवाल जवाफ गर्न होइन । समस्या कहाँनिर पर्‍याे गाँठो फुकाउने कुरामा हामी मद्दत गर्न चाहान्छौँ ।’

सांसद थापाले यो समस्या सम्बोधन गर्ने सबैको जिम्मेवारी समेत भएको बताए । उनले सबै सांसद यही बस्ने भएकाले बाहिरका योजना काटेर भए पनि फोहरको समस्या समाधान गर्नुपर्ने भनाइ राखे ।

‘हामी काठमाडौंको सांसद मात्रै होइन बाहिरको सांसद पनि यहि बस्छौँ,’ उनले भने, ‘हामीले निकालेको फोहर हो । बाहिरको ५ वटा योजना काटे पनि हुन्छ । तर बञ्चरेडाँडा र सिसडोलमा लामो समयदेखि हामीले प्रतिज्ञा गरेको पुरा गर्न यो पटकको बजेटबाट केही अर्ब पैसा छुट्याउने हो भने फोहरको दीर्घकालीन समाधान निस्कन्छ ।’

LEAVE A REPLY