साझाट्युव : चैत १, काठमाडौं ।
राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले अब अस्पतालमा जन्मिएका बच्चाको विवरण सिधै विभागमा लिने प्रक्रियालाइ अगाडि बढाएको छ ।
विभागकी निर्देशक विनिता भट्टराईका अनुसार अस्पतालमा बच्चा जन्मिएको विवरण फारम अस्पतालबाटै भरेर विभाग आउने व्यवस्था मिलाइएको छ । केही समय भित्र नै यो व्यवस्था सुरु हुने पनि उनले बताएकि छिन् ।
अब यसो गर्दा कति बच्चा कहिले जन्मिए भन्ने यकिन विवरण आउने साथै जन्म मिति पनि वास्तविक हुने विभागको विश्वास रहेको छ ।
काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागकी निर्देशक विनिता भट्टराईले बोल्दै ‘जन्मदर्ताको समस्या धेरै भयो भन्ने आउने गरेको छ । यसलाई चिर्न हामीले सीधै अस्पतालबाट फारम भरेर विभाग ल्याउन लागिएको हो ’भनिन।
यसैगरी,उनले घरमै जन्मिएको बच्चाको सन्दर्भमा भने स्वयंले नै जन्मदर्ता नगराउँदासम्म राज्यको जानकारीमा नआउने बताइन् ।
हाललाई बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नुपर्ने व्यवस्था छ भने ३५ दिन भन्दा ढिलो भए विलम्ब शुल्क तिर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । जन्म, मृत्यु, बसाइँरसाइँ लगायतका व्यक्तिगत घटना दर्ता गर्दा अनलाइन फारम भरेर वडा कार्यालयमा जानु पर्दछ ।
साथै, निर्देशक भट्टराईले आमा–बाबु दुबैको पहिचान नभएको, विवाह दर्ता नभएको कारणले बच्चाको जन्मदर्ता नरोकिने पनि बताइन् ।