आजको बन्दको प्रभाव काठमाडौंमा खासै नभएको

248

साझाट्युव : ७ भदौ, काठमाडौं ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायत अन्य ४ वटा पार्टीहरुले गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा भने खासै परेको छैन । काठमाडौं उपत्यका बाहिर भने बन्दको आंशिक प्रभाव रहेको छ ।

महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार काठमाडौं उपत्यकामा सवारी साधनहरु सामान्य रुपमा चलिरहेको र उपत्यकादेखि लामो दुरीमा चल्ने बसहरु समेत चलिरहेका छन् । आज बिहान अन्य दिनको तुलनामा कम गाडी चलेता पनि पछि भने सडकमा गाडी बढ्दै गएका थिए ।

 

ट्राफिक प्रहरीले आवश्यक सुरक्षा व्यवस्थालाइ पूर्णरुपमा मिलाइएकाले ढुक्क भएर सवारी साधन चलाउनको लागि चालकहरुलाई भनेको छ । बिहानैबाट मुख्य चोकहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालनमा रहेका छन् ।

तथापि सुरक्षाकर्मीको आँखालाइ छल्दै बन्दकर्ताद्वारा कोटेश्वरमा दुईवटा त्यस्तै थापागाउँमा एउटा बसको सिसा फुटाएका छन् । फेरिपनि दुबै ठाउँको घटनामा ठूलो क्षति भने नभएको महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता भट्टले जानकारी दिए । केही बन्दकर्तालाइ पक्राउ पनि परेका छन् ।

 

त्यसैगरेर कैलाली, काभ्रे, रुपन्देही लगायतका जिल्लामा भने शंकास्पद वस्तु फेला परेका छन् । दाङमा एउटा टिपरमा आगजनी गरेको छ ।

सरकारसित २०७७ सालको फागुन २० गते गरेको ३ बुँदे सम्झौताअनुसार आफ्नो पार्टीका नेता/कार्यकर्तालाइ लगाइएका मुद्दा फिर्ता गर्नुपर्ने लगायतका माग राख्दै नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दलाई ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी लगायत नेकपा माओवादी समाजवादी पार्टीले समेत समर्थन दिएका छन् ।

LEAVE A REPLY