साझाट्युव : चैत २, काठमाडौं ।
नेपाल इन्जिनियर्स एसोसिएनको चुनावमा कांग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन)को प्यानलले नै जितेको छ ।
चुनावमा डा हरिबहादुर दर्लामीको नेतृत्वमा ३३औं केन्द्रीय कार्यकारिणी समितिका लागि उम्मेदवारी दिएका २३ जनाले नै विजयी प्राप्त गरेका हुन् ।
जसअन्तर्गत अध्यक्षमा दर्लामी ३७३२ मत प्राप्त गरी जित हासिल गरेको सोही प्यानलबाट उपमहासचिवका उम्मेदवार सरोज धितालले बताए ।
धितालले जानकारी गराए अनुसार अध्यक्षका अन्य उम्मेदवारमा डा सुरज लामिछानेले २८११, डा हरिराम पराजुलीले १२८५, दिलीपकुमार झाले १०९२ र राजेन्द्र हाडाले ३२५ मत प्राप्त गरेका थिए ।
त्यस्तै,दर्लामीकै प्यानलबाट उपाध्यक्षमा नारायणप्रसाद अधिकारी, महासचिवमा रविभुषण झा, उपमहासचिवमा सरोज धिताल,कोषाध्यक्षमा दिनेश त्रिपाठी र सह कोषाध्यक्षमा दिपक अधिकारी विजयीले प्राप्त गरेका छन्।
नेइएको निर्वाचनमा पाँच समूहले भिडन्त गरेका थिए। जसमा कांग्रेसबाट नै दिलीपकुमार झाको नेतृत्वमा अर्को बागी उम्मेदवारको समूहले समेत प्रतिस्पर्धा गरेको थियो। यस्तै,माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी निकट इन्जिनियरहरुको छुट्टै प्यानल पनि रहेको थियो।
निर्वाचनमा एमाले र लोकतान्त्रिक समाजवादी पक्षका इन्जिनियरहरुले गठबन्धन बनाएका थिए भने मजदुर किसान पार्टी निकटका इन्जिनियरहरुले भने पहिलोपटक केन्द्रमा प्यानल खडा गरेर प्रतिस्पर्धा गरेका हुन्।
विवाद उत्पन्न भएपछि मधेस प्रदेशको मतगणना भने रोकिएको छ। गणना सकिएका अन्य प्रदेशमाहरुमा कांग्रेस निकटले सिडेन प्यानलसहित नै विजय प्राप्त गरेको छ।