साझाट्युव : वैशाख १८, काठमाडौं ।
बैशाख ३० मा हुनगई रहेको स्थानीय तह निर्वाचनमा उठेका अन्य दलका उम्मेदवारहरु चर्चा समेत गर्न लायक नरहेको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन् ।अध्यक्ष ओलीले उम्मेदवार बन्ने इच्छा गर्नु अन्य दलका उम्मेदवारहरुको अधिकारको कुरा भएपनि उनीहरु चर्चा गर्न लायक नभएको बताएका हुन् ।
आज अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आवश्यक्ता नै नभएका अन्य दलका उम्मेदवारहरुलाई छोडेर एमालेका उम्मेदवारहरुलाई जिताउन आग्रह गरे ।
अध्यक्ष ओलीले काठमाडौंलाई विश्वकै नमूना राजधानी बनाउने, सफा राजधानी बनाउने र यहाँका बागमती, विष्णुमती नदीलाई पूर्ण सफा बनाउने संकल्पका साथ एमालेले काठमाडौं महानगरपालिकाको उम्मेदवार बनाएको पनि बताउनुभयो ।
थपमा केशव स्थापितको अनुभव र अन्य युवा उम्मेदवारहरुको जोशलाई मिलन गरेर काठमाडौं महानगरपालिकालाई आफ्नो पार्टी समृद्ध बनाउन चाहेको पनि स्पष्ट पारे ।
अध्यक्ष ओलीले पार्टीको चुनावी घोषणापत्र र स्थानीय तहको प्रतिवद्धतापत्र लिएर चुनावी प्रचार अभियानलाई तीव्रता दिन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो । उहाँले मजदुरहरुको हक, अधिकार सुनिश्चित गर्नका लागि एमाले सदैव तयार रहेको पनि पटकपटक दोहोर्याउनुभयो ।