साझट्युब : २३ जेठ , काठमाडौं ।
सार्वजनिक शौचालय प्रयोग गर्न दिने होटल, रेष्टुरेण्ट तथा बैंकका लागि काठमाडौँ महानगरले लोगो सार्वजनिक गरेको छ । मेयर बालेन्द्र शाहले सार्वजनिक शौचालयमा प्रयोगले आफ्नो कार्यकक्षमा बसेको फोटोसहित उक्त लोगो सार्वजनिक गरेका हुन् ।
नीलो पृष्ठभूमिको संकेत चिन्ह अब होटल तथा रेस्टुरेन्टहरुले स्वेच्छिक रुपमा आफ्नो शौचालयमा राखेर सार्वजनिक रुपमा खुला गर्न सक्ने भएका छन् ।
सर्वसाधारण प्रयोगकर्तालाई सार्वजनिक शौचालय चिन्न सजिलो होस् र सबै सार्वजनिक शौचालयको पहिचान एउटै होस् भनेर संकेत चिन्ह तयार पारिएको महानगरपालिकाले जनाएको छ ।
गोलो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ । बीच भागमा सेतो रङ्मै महिला र पुरुषको चिन्ह रहेको छ । संकेत चिन्हको पुछारमा अंग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ ।
महानगर क्षेत्रभित्रका होटल, रेष्टुरेन्ट, बैङ्क, व्यापारिक भवन, कम्पनी, र्फम, गैर सरकारी संघ संस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकहरुलाई महानगरको सार्वजनिक निजी साझेदारी एकाईमा सम्पर्क राख्न सार्वजनिक आव्हान गरिसकेको छ।
त्यस्तै महानगरपालिकाले सात दिनभित्रमा सार्वजनिक शौचालय प्रयोग गर्न दिने सरोकारवाला निकायलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।