साझट्युब : ११ जेठ, काठमाडौं ।
यसपटक कोरियन भाषाका परीक्षार्थीहरूले बायोमेट्रिक परीक्षण पास गरे पछि मात्र परीक्षा दिन पाउने भएका छन् । परीक्षा कोठामा नक्कली परीक्षार्थीहरूको सहभागीमा कडाइ गर्न बायोमेट्रिक परीक्षण गरिने भएको हो । भाषा परीक्षार्थीहरूको फिङ्गर प्रिन्ट लिएर मात्र परीक्षा भवनमा प्रवेश दिन लागेको इपीएस कोरियन शाखाले जनाए । दुई वर्षपछि नियमित हुन लागेको भाषा परीक्षालाई व्यवस्थित गर्न बायोमेट्रिक परीक्षण गर्न लागेको हो ।
विगतमा भएको भाषा परीक्षामा नक्कली विद्यार्थीहरूको प्रवेश हुने गरेकाले कडाइ गर्न बायोमेट्रिक परीक्षण हुने भएको छ । समय-समयमा भाषा परीक्षा हलबाट नक्कली परीक्षार्थीहरू पक्राउ पर्ने गरेका थिए।
परिक्षा हुने अघिल्लो दिन बायोमेट्रिक परीक्षण हुनेछ । परीक्षार्थीको आँखा र फिंगर प्रिन्ट लिएर परीक्षण गरिन्छ यदि औलाको फिंगर प्रिन्ट नमिलेमा विद्यार्थीलाई परीक्षा हलमा प्रवेश दिइने छैन । शाखाले परीक्षालाई व्यवस्थित परीक्षार्थीको निःशूल्क बायोमेट्रिक परीक्षण गर्न लागेको हो ।
भैसेपाटीमा परीक्षा अनलाइन माध्यमबाट हुनेछ । ट्याब्लेटको माध्यमबाट परीक्षा गरिन्छ । शाखाले अबदेखि कम्प्युटर विधिबाट परीक्षा लिने तयारी गरेको छ । यसअघि परीक्षार्थीले पेपरमा परीक्षा दिने गरेका थिए ।
भाषा परीक्षामा नक्कल गर्ने परीक्षार्थी ४ वर्षका लागि पुनः परीक्षामा सामेल हुन पाउने छैनन् । अर्काको नाममा परीक्षा दिन प्रयत्न गर्ने व्यक्तिलाई पक्राउ गरी सार्वजनिक अपराधमा कारबाही गरिने शाखाले प्रस्ट पारेको छ ।
यस वर्षको पहिलो चरणको परीक्षा आगामी जेठ १९ गते परीक्षा हुने भएको छ । कृषि तथा पशुपालनमा जाने विद्यार्थीहरूको परीक्षा हुनेछ । असार १ गतेसम्म पहिलो चरणको परीक्षा हुनेछ ।
शाखाका अनुसार पहिलो चरणको परीक्षा सकिएपछि औद्योगिक क्षेत्रमा जाने विद्यार्थीहरूको परीक्षा हुने मिति सार्वजनिक हुने भएको हो ।
दैनिक तीन सिफ्टमा ६ सय जनाको परीक्षा हुनेछ । परीक्षा भवनमा एक सिफ्टमा २ सय जना परीक्षार्थी हुने खनालले जानकारी दिइन् । ‘पहिलो चरणको परीक्षामा १० हजार बढी भाषा परीक्षार्थी सहभागी हुने भएका छन्,शाखाकी कार्यवाहक प्रमुख कमला खनालले भनिन् परीक्षालाई पूर्ण रुपमा पेपरलेस बनाइनेछ ।