साझाट्युव : चैत ६, एजेन्सी।
हाल थुप्रै देशहरूमा कोरोना सङ्क्रमण वृद्धि हुँदै गएपछि विश्व स्वास्थ्य संगठनले महामारी अन्त्य हुन अझै धेरै समय लाग्ने चेतावनी गरेको छ ।
दक्षिण पूर्वी एसियाली मुलुकहरूमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो क्रम जारि छ । ओमिक्रोन नयाँ भेरियन्टका कारण चीनमा फेरि सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ । चीनमा यो हप्ता पहिलोपटक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
डेल्टा र ओमिक्रोन भेरियन्टका कारण चीनसहित हङकङ, सिंगापुर र दक्षिण कोरिया लगायतका देशहरुमा यसको सङ्क्रमण बढेको बताइएको छ । सिंगापुरमा शनिबार मात्रै थप १० हजार २४४ जनामा सङ्क्रमण पुष्टि भएको थियो । हङकङमा एकै दिन १६ हजार ५९७ जना सङ्क्रमित थपिएका छन् ।
यस्तै,बेलायतले चौथो चरणमा कोरोनाविरुद्धको खोप दिने तयारी गरेको नेसनल हेल्थ सर्भिस (एनएचएस) ले जनाएको छ भने बेलायतमा २० जनामा १ जना ओमिक्रोन भेरियन्टबाट सङ्क्रमित रहेको छ ।