गणतन्त्र घोषणा भएको १३ वर्ष बित्नै लाग्यो, तर ,स्तम्भ निर्माण हुन सकेन

311

साझाट्युव : चैत ७, काठमाडौं।

गणतन्त्र घोषणा भएको १३ वर्ष बित्न लाग्दा पनि गणतन्त्र स्तम्भको निर्माण भने अझै अन्योलमा छ । २०६५ जेठ १५ गते नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएकोमा सरकारले गणतन्त्रको प्रतीक स्वरूप स्तम्भ निर्माण गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्बाट २०६६, २०६७ र २०६९ मा गरी तीन पटक निर्णय गरेर दुई जना प्रधानमन्त्री माधवकुमार नेपाल र डा बाबुराम भट्टराईले शिलान्यास गरेका स्तम्भ सरकारको प्राथमिकतामा परेको देखिन्छ तर निर्माण कहिले हुन्छ भन्नेमा चाहिँ स्तम्भ निर्माणको जिम्मेवारी पाएका सहरी विकास मन्त्रालयका अधिकारी नै अनभिज्ञ छन् । यसको अर्थ प्राथमिकता खस्केको भन्ने पनि हो ।

पहिलो पटक २०६६ जेठ ११ गतेको मन्त्रिपरिषद् बैठकले गणतन्त्र स्तम्भ स्थापना गर्ने निर्णय गरेको थियो । त्यसपछि तत्कालीन प्रधानमन्त्री नेपालले राजधानीको रत्नपार्कमा सो स्तम्भ निर्माणका लागि शिलान्यास गरेका थिए । त्यसपछि २०६७ असार २ गतेको मन्त्रिपरिषद् निर्णयले रत्नपार्कमा सो स्तम्भको निर्माण साँघुरो हुन्छ भनी ललितपुरको गुँसीगालस्थित यूएन पार्कमा सो स्तम्भ बनाउने निर्णय गरेको थियो । विभिन्न कारण देखाउँदै ललितपुरमा पनि सो स्तम्भको निर्माण कार्य नभएपछि तत्कालीन सरकारले २०६९ वैशाख ७ गते सो स्तम्भ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयस्थित परीक्षा नियन्त्रण कार्यालयको पश्चिमतर्फ गाड्खेलमा ६० रोपनी क्षेत्रफलमा स्तम्भ निर्माणका लागि तेस्रो पटक निर्णय गरेको थियो ।
यो समाचार आजको गोरखापत्र दैनिकमा रहेको छ ।

LEAVE A REPLY