साझट्युब : ३० जेठ,काठमाडौं ।
गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा विपद् जोखिम न्यूनिकरण साथै व्यवस्थापन कार्यकारी समितिको बैठक बसेको हो ।
मनसुन सुरु भईसकेता पनि गृहमन्त्री खाँणले चासो नदिँदा ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना-२०७९’ स्वीकृत नभएको भन्दै आलोचना भइरहेका समयमा सोमबार समितिको बैठक बसेको छ ।
मन्त्री खाणले बैठकमा यो वर्षका हुनसक्ने मनसुनजन्य विपद्का निम्ति तयार भएका जनशक्तिको अवस्था एवं साधनस्रोतको विवरण सहितको विस्तृत कार्ययोजना समेत लिखितरुपमा पेश गर्न निर्देशन दिएका हुन् । बैठकमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०७९ लगायतका एजेण्डामा विस्तृत छलफल गरेको उनको सचिवालयले जानकारी दिएको छ ।
बैठकमा भाग लिएर बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले प्रतिकार्यमा जिम्मेवार निकायहरुको आपतकालीन सम्पर्क नम्बरहरु सर्वसाधरणसम्म पुग्नेगरी संचार गर्न सुझाव पनि दिएका छन् । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एकीकृत विकासमा विपद् सम्बन्धी विषयवस्तुलाई समावेश गरिनुपर्ने आफ्नो धारणा पनि राखिन् ।
त्यस्तै मुख्यसचिव शंकरदास बैरागीले उद्दार र राहतमा तलदेखि माथिसम्मका निकायकोबीच समन्वय र रणनैतिक स्थानहरुमा पर्याप्त मात्रामा उपकरणहरुको व्यवस्था गर्न आवश्यक भएको भनि जोड दिए ।
यसैगरी बैठकमा विभिन्न मन्त्रालयका सचिव,लगायत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, नेपाल रेडक्रस सोसाइटी एवं नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधिहरुले समेत आफ्ना निकायदेखि भएका पूर्वतयारीका अवस्था तथा प्रतिकार्यको योजनाबारे जानकारी दिएका थिए ।