ग्याँस उद्योगहरूले ग्याँस बिक्री रोके

318

साझाट्युव : चैत १७ ,काठमाडौं।
ग्याँस उद्योगहरुले आजबाट बिक्रेताहरुलाई ग्याँस बिक्री वितरण बन्द गरेका छन् ।

नेपाल आयल निगमले कमिसन कटौती गरेको विरोधमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल एलपी ग्याँस उद्योग संघले संयुक्त रुपमा आन्दोलन गर्दै आएका छन् । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिको आह्वानमा पूर्वघोषित आन्दोलनका कार्यक्रम अनुसार आजबाट एलपी ग्याँस उद्योगीहरुले बिक्रेतालाई बिक्री वितरण बन्द नै गरेका हुन् ।

यदि कमिसन कटौतीको निर्णय नसच्याए चैत २० गतेदेखि देशभर ग्याँस र पेट्रोलियम पदार्थको बिक्री बन्द गर्ने चेतावनी पनि उनीहरुले दिएका छन् ।

आयल निगमले पेट्रोलियम बिक्रेतालाई प्रतिशतको आधारमा दिंदै आएको कमिसन २०७८ फागुन १९ गतेबाट बन्द गरेको थियो । सो कमिसन पाउनुपर्ने र २०७७ मंसिर १८ गतेबाट स्थगन गरिएको प्राविधिक नोक्सानीका सम्बन्धमा गुणस्तर तथा नापतौल विभागका महानिर्देशक नेतृत्वको अध्ययन समितिको प्रतिवेदनअनुसार लागु गर्नुपर्ने मुख्य माग राखेर उनीहरुले चैत ५ गतेदेखि आन्दोलन गर्दै आइरहेका छन् ।

यस्तै,पूर्वघोषित आन्दोलनको कार्यक्रम अनुसार चैत ६ गतेबाट सबै एलपी ग्यास उद्योगहरुले नेपाल आयल निगमबाट पीडीओ खरिद रोकेका थिए भने एलपी ग्याँस उद्योगहरुले चैत १४ गतेदेखि सबै नाकाहरुबाट भन्सार छुटाउने काम पनि रोकेका थिए ।

LEAVE A REPLY