तीन दिने नेपाल भ्रमणका चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै

267

साझाट्युव : चैत ११,काठमाडौं ।

चीनका विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यी आज नेपाल आउँदै छन् । उनी भारत हुँदै तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउन लागेका हुन् ।

नेपालमा शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएपछि आउने वाङ यी पहिलो उच्चस्तरीय अतिथि हुन् ।

परराष्ट्र मन्त्रालयले जनाए अनुसार परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेको हो । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री खड्का र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने बताइएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतले बताए अनुसार भेटवार्तामा चीनले अघि सारेको पूर्वाधार विकास परियोजना ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’अन्तर्गत सहयोगका परियोजना कार्यान्वयनका विषयमा केन्द्रित रहेर विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डलसँग नेपालले छलफल गर्ने छ ।

नेपालको राष्ट्रिय हित र विकासका आवश्यकता र प्राथमिकतालाई विश्वको उदीयमान प्रमुख शक्ति राष्ट्र चीनसँग साझेदारी र सहयोग अभिवृद्धिलाई नै सरकारले छलफलको कार्यसूची बनाएको छ ।

वाङ यी यसअघि २०७६ साल भदौ महिनामा पनि नेपाल भ्रमणमा आएका थिए ।

LEAVE A REPLY