साझाट्युव : वैशाख २२, काठमाडौं।
काठमाडौँ महानगरपालिका प्रमुखका लागि उम्मेदवारी दिएका दीपक सिलवाल आमरण अनसन थालेका छन् ।
बिहीबारदेखि काठमाडौँको मध्य बानेश्वरमा रहेको चिनारी बोइज होस्टेलमा उनले आमरण अनसन थालेका हुन् । ।
उनको आमरण अनसनको एकसुत्रीय माग छ–‘सरकारले हेलिकोप्टर खरिद गर्नुपर्ने ।’
गर्भवती महिला सुत्केरी हुने बेला अकाल मृत्युबाट बचाउन उद्धारका लागि सरकारले छुट्टै हेलिकोप्टर खरिद गर्नुपर्छ भन्ने उनको माग हो । नेपालका दुर्गम जिल्लाका गाउँ बस्तीमा सुत्केरी हुने बेला समयमै अस्पताल पुग्न नपाएका कारण धेरै महिलाले ज्यान गुमाउनु परेको छ ।
उनले भने, ‘सरकारले यसका लागि हेलिकोप्टर खरिद गर्ने प्रतिबद्धता नजनाएसम्म मेरो आमरण अनसन जारी रहन्छ ।’
स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका उनले ‘रिक्सा’ चुनाव चिन्ह पाएका छन् ।