धनगढीमा मुख्यमन्त्री महिला गोल्डकप फुटबल प्रतियोगिता हुने

405

साझाट्युव : चैत ४, धनगढी।
वैशाख महिनामा धनगढीमा प्रथम मुख्यमन्त्री बीवाईसी महिला गोल्डकप फुटबल प्रतियोगिता गरिने भएको छ ।

आयोजक वनदेवी युवा क्लब (बीआईसी)द्वारा बिहीबार पत्रकार सम्मेलन गरी वैशाख ३ देखि १० सम्म धनगढी रंगशालामा महिला गोल्डकप हुने जानकारी गराएको हो ।

संयोजक दुर्गा अधिकारीले बताए अनुसार सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रवर्द्धक रहेको प्रतियोगितामा ८ टिमको सहभागिता रहनेछ  । सो मुख्यमन्त्री महिला गोल्डकप नेपालको महिला फुटबलमा रहने सर्वाधिक धनराशिको प्रतियोगिता भएको समेत उनको दाबी छ ।

आयोजक क्लबका अध्यक्ष सुसन जोशीले बताए अनुसार प्रतियोगिता विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने  छ । त्यस्तै,प्लेयर अफ द म्याचले ५ हजार तथा विधागत उत्कृष्ट खेलाडीले जनही १० हजार पाउनेछन् भने उत्कृष्ट खेलाडीले ५० हजार पाउनेछन् । यस प्रतियोगिता आयोजनालाई झन्डै एक करोड बढी खर्च लाग्ने जानकारी दिइएको छ  ।

प्रतियोगिताबारे बोल्दै अध्यक्ष जोशीले ‘प्रतियोगिताले सुदूरपश्चिमका धेरै महिला खेलाडीको सम्भावना उजागर गर्ने स्पष्ट छ,आगामी दिनमा सुदूरपश्चिममा फुटबलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल खेलाडी उत्पादन गर्नेमा पनि टेवा पुग्ने अपेक्षा छ ’ भने।

यो वनदेवी युवा क्लब तेघरी लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय रहँदै आएको संस्था हो भने अघिल्लो सातामात्र सर्वाधिक पुरस्कार राशिको पुरुषको पाँचौं सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल सकिएको थियो । जसमा मनाङ मर्स्याङ्दी क्लब च्याम्पियन भएको थियो ।

LEAVE A REPLY