साझट्युब : १६ जेठ, काठमाडौं ।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई शीघ्र अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । नेपाल समितिको आज बिहान बसेको बैठकले निर्माण देखिएका कानुनी र अन्य अड्चन हटाई निर्माण कार्य अघि बढाउन भनेको हो । सर्वोच्च अदालतले गत बिहीबार निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न दिएको फैसलाको आलोचना गर्दै समितिले तत्काल निर्माण कार्य अगाडि बढाउन निर्देशन दिएको हो ।
समितिले बैठकमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल एवं विविध विषयका सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री शेरबहादुर आले, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला), संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्व न्यौपाने, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग छलफल गरेको थियो ।
नेपालको राष्ट्रिय हित अनुकूल अर्थतन्त्रलाई सुदृढ तुल्याउने उद्देश्यका साथ लामो समयको अध्ययन तथा धेरै ठूलो लगानीका साथ अगाडि बढाइएको राष्ट्रिय गौरवको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाको कार्य रोक्नुपर्ने भन्ने निर्णय कुनै पनि दृष्टिबाट उचित नदेखिएको समितिको निष्कर्ष छ ।
‘बाह्य र आन्तरिक ऋणको बोझ बोक्दै कठिन अवस्थामा रहेको नेपालको अर्थतन्त्रलाई निजगढ विमानस्थलको निर्माण प्रयोजनको लागि भइसकेको अर्बाैं रुपैयाँको खर्चलाई निरर्थक तुल्याउँदै झनै धक्का लाग्न सक्छ,’ समितिको निर्णयमा छ ।