निफ महोत्सव आजदेखि शुरु, ३८ देशका ८९ फिल्महरु प्रदर्शन हुने

155

साझाट्युव : चैत १७ ,काठमाडौं।
चर्चित महोत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को पाँचौं संस्करण आज बिहिबारदेखि काठमाडौंमा सुरु हुँदै छ ।

नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीको आयोजनामा महोत्सव काठमाडौंको राष्ट्रियसभा गृह र पर्यटन बोर्डको हलमा आजदेखि यहि चैत २१ गतेसम्म चल्ने छ । निफ महोत्सवले विश्वसामु नेपाली चलचित्रको प्रवर्द्धन गर्दै नेपाली पर्यटन लगायतका क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ ।

भौतिक रुपमा नै सञ्चालन हुने यो महोत्सवको मूल नारा ‘विश्वभरीका कथाहरुको उत्सव, नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ सहित राखिएको छ ।

आज बिहिबार पहिलो दिन राष्ट्रिय सभागृहमा साँझ साढे ५ बजे डा. पुरु लम्सालको ‘गुरु पर्व’ प्रदर्शन गरेर शुभारम्भ गरिने छ ।

यस महोत्सव अवधिमा ३८ देशका ८९ वटा चलचित्र, वृत्तचित्र र एनिमेटेड चलचित्रहरु प्रदर्शन हुने साथै प्रतिस्पर्धा समेत हुने छ । जसमा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा-छोटा चलचित्र, वृत्तचित्र तथा एनिमेटेड चलचित्रबीचबाट ७ वटा विधामा प्रतिस्पर्धा हुने र उत्कृष्टताका आधारमा १४ वटा पुरस्कार वितरण गरिने समेत निफका अध्यक्ष केपी पाठकले बताए ।

गत वर्ष भने कोरोना महामारीका कारण भर्चुअल रुपमा निफ आयोजना गरिएको थियो ।

LEAVE A REPLY