निर्वाचन आयोगले बैशाख १३ गतेबाट स्थानीय तह निर्वाचनको मतपत्र ढुवानी गर्ने

204

साझाट्युव : बैशाख १२, काठमाडौँ । 

निर्वाचन आयोगले बैशाख १३ गतेबाट स्थानीय तह निर्वाचन २०७९ को मतपत्र ढुवानीको काम सुरु गर्ने भएको छ ।आयोगले सोमबारगरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख १२ गतेसम्म ६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार गरी करिब ८० प्रतिशत मतपत्रको छपाई सकिएको जानकारी दिएका हुन् ।
निर्वाचन आयोगले एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरेको छ । आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सम्बन्धित सबै पक्षलाई पनि सचेत गराएको छ ।

निर्वाचन आयोगले सरुवा, पदस्थापन वा काजमा खटाइएका कर्मचारीहरुलाई निर्वाचन सम्पन्न गराउने प्रयोजनका लागि तोकिएको ठाउँमा यही बैशाख १५ गते भित्र अनिवार्य रुपमा हाजिर हुने व्यवस्था मिलाउन पनि सम्बन्धित पक्षलाई पुनः निर्देशन दिएको छ ।

निर्वाचन आयोगले हालसम्म निर्वाचनको पर्यवेक्षणका लागि ६८ वटा संस्थाहरुले अनुमति लिएको पनि जनाएको छ । ती संस्थाका करिव २० हजार पर्यवेक्षकहरुलाई आयोगको परिचय पत्रसहित मतदान केन्द्रहरुमा परिचालन गरिने पनि आयोगका प्रवक्ता पौडेलले बताए ।

निर्वाचन आयोगले आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठ र सहन्यायाधिवक्ता गुरु वाग्लेलाई निर्वाचन सूचना सम्प्रेषण अधिकारी पनि तोकेको छ । आयोगका प्रवक्ता र सहप्रवक्ताको अतिरिक्त उहाँहरूलाई पनि निर्वाचनको सूचना दिनका लागि निर्वाचन सूचना सम्प्रेषण अधिकारी तोक्नु परेको प्रवक्ता पौडेलले बताउनुभयो ।

LEAVE A REPLY