नुवाकोटमा गठबन्धनबाट चुनाव लडेर विजयी भएका भण्डारी सपथ लिएको ३ दिनमै भ्रष्टाचार मुद्धामा निलम्बित

280

साझट्युब :  १६ जेठ, काठमाडौं ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट चुनाव लडेर विदुर नगरपालिका वडा नम्बर ९ को अध्यक्षमा विजयी भएका हरेराम भण्डारी भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका छन । उनले जेठ ९ गते सोमवार सपथग्रहण गरेका थिए।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७६ साल भाद्र महिनामा नुवाकोट जिल्लाको विदुरमा रहेको सुलक्षणा माध्यमिक विद्यालय तत्कालीन प्रधानाध्यापक हाल वडा अध्यक्षमा विजयी भएका हरिराम भण्डारीसहित ३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

उनीसँगै विद्यालयका शिक्षक केशवबहादुर बस्नेत र तत्कालीन विद्यालयका निरीक्षक कुमारप्रसाद तिमल्सिनाविरुद्ध आयोगले मुद्दा दायर गरेको हो ।तर भण्डारीले निर्वाचन आयोगलाई झुक्याएर आफ्नो सूचना लुकाएर गठबन्धनबाट उम्मेदवार बनेर वडा अध्यक्षमा विजयी भएका थिए ।

 

विद्यालयको शिक्षक रहेको अवस्थामा भण्डारीले ३ वर्षे वेतलबी विदा लिई बैदेशिक रोजगारको लागि मलेसिया गएका थिए ।

उनका सम्बन्धमा स्थानीयले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिए पनि सुनुवाइ नभएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराएका थिए । त्यसपछि अख्तियारले पत्र लेखेर निर्वाचन आयोगलाई भण्डारी निलम्बनमा पर्ने जानकारी गराएको छ । उनले सेवा निवृत हुने समयमा वेतलबी विदा बसेको अवधिको गणना गरी सेवा सुविधा लिएको अख्तियारको अनुसन्धानबाट खुलेको थियो ।

भण्डारीलाई सेवा सुविधा उपलब्ध गराउने निवृतिभरण प्रयोजनका लागि विद्यालयका  निरीक्षक तिमल्सिनाले तत्कालिन जिल्ला शिक्षा कार्यालयमा सिफारिस गरिदिएका थिए ।

सोही सिफासिरसका आधारमा भण्डारीले शिक्षक कितावखानाबाट सेवानिवृत सेवासुविधा लिएको पुष्टि भएपछि आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरको हो । तत्कालिन प्रधानाध्यापक भण्डारीसहित तीन जनाविरुद्ध अख्तियारले शुक्रबार अनुसन्धान गरी मुद्दा दायर गरेको हो ।

जेठ ९ गते सोमवार सपथग्रहण गरेका हरिराम भण्डारीले वडा सदस्य राजकुमार श्रेष्ठलाई कावा वडाध्यक्षको जिम्मेवारी दिएर आफू घरमै बसेका छन । उनीमाथि भ्रष्टाचारको मुद्दा चलिरहेका कारण उनी स्वत निलम्बित हुने व्यक्ति हुन तर तीन दिन काम गरेर उनले कनिष्ठ वडा सदस्यलाइ कार्यबाहको जिम्मेवारी दिएका छन ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले पनि भण्डारीको भ्रष्टाचारम मुद्दा टुंगो नलाग्दासम्म उनी निलम्बनमै रहने कानुनी व्यवस्था रहेको जानकारी दिए ।

भण्डारी वडा अध्यक्षमा विजयी भएपछि स्थानीयहरू शनि चित्रकार, विनयप्रसाद लामिछाने, राजकुमार तामाङ, जयराम रिजाल, धनवहादुर वोगटी, सीता वोगटी, धनमाया सुनार, सुरेन्द्र श्रेष्ठसहित २० जनाले मुद्धाको विवरणसहित विदुर नगरपालिका कार्यालय, निर्वाचन अधिकृतको कार्यालयमा जानकारी गराए थिए ।

उजुरीकर्ताले सपथ नै रोक्न माग गरे पनि सत्तागठबन्धनको छायाँमा परेको मुख्य निर्वाचनको अधिकृतको कार्यालय र विदुर नगरपालिकाको कार्यालयले उनको सपथ गराएको थियो ।

LEAVE A REPLY