नेपाली श्रमिकको हितका विषयमा नेपाल र युएईबीच छलफल

384

साझाट्युव : चैत २, काठमाडौं ।

अहिले संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा. अव्दुलरहमान अव्दुलमानन अल अवारबीच भेटवार्ता भएको बताइएको छ ।

मन्त्रालयले जनाए अनुसार संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीस्थित मानव संशाधन मन्त्रालयमा भएको भेटवार्तामा दुई देशको आपसी सम्बन्ध र युएईमा कार्यरत नेपाली श्रमिकको हितका विषयमा छलफल भएको बताइएको छ ।

भेटमा मन्त्री श्रेष्ठले युएई सरकारले हालै जारी गरेको श्रम कानुन आप्रवासी श्रमिकको पक्षमा रहेको भन्दै युएई सरकारको प्रशंसा गरेका छन् । उनीहरुबीच रोजगारीको प्रलोभनमा भिजिट भिसामा युएई आएर अलपत्र परेका नेपालीहरुको समस्या समाधान गर्ने र दोषीलाई कारवाहीको दायरामा ल्याउन दुई देश मिलेर काम गर्ने सहमति समेत भएको जनाइएको छ ।

सो भेटमा मन्त्री अवारले युएई सरकारले नेपालमा सीप विकास तालिम केन्द्र स्थापना र क्षमता वृद्धिमा लगानी गरी दक्ष जनशक्ती उत्पादनमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

यसैगरी,उनले नेपाल सरकारले स्थापना गर्न लागेको श्रमिक अस्पताल निर्माणमा पनि युएई सरकारले सहयोग गर्ने समेत बताएका छन् । साथै,उनीहरुबीच युएईमा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य र वीमा, पारिश्रमिक वृद्धि लगायतका बिषयमा पनि छलफल पनि भएको थियो ।

लामो समयदेखि कार्यरत घरेलु महिला श्रमिकलाई पुन: श्रम स्वीकृति खुला गर्ने नेपाल सरकारको निर्णयले युएईमा रहेका घरेलु महिला श्रमिकहरुलाइ लाभान्वित हुने समेत मन्त्री अवारले बताएका थिए ।

LEAVE A REPLY