पानि दिवसले सबैलाई पानीको दिगो र सुरक्षित उपयोग गर्ने बानी बसाल्नअभिप्रेरित गरोस् : प्रधानमन्त्री देउवा

161

साझाट्युव : चैत ८,काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले ‘भूमिगत जलस्रोतको संरक्षण र संवर्धन गरौं’ भन्ने नाराका साथ यस वर्ष मार्च २२ का दिन मनाइने विश्व पानी दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्।
उनले विश्व पानी दिवसका अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दै यो दिवसले सबैलाई पानीको दिगो र सुरक्षित उपयोग गर्ने बानी बसाल्न अभिप्रेरित गरोस् भन्ने कामना गरेका छन् ।

जलस्रोतको ठूलो अंश मानिने भूमिगत जलस्रोतको प्रयोगमा जनसङ्ख्याको ठूलो हिस्सा आश्रित भइरहेको हुँदा जलभण्डारको पहिचान र दिगो उपयोग गर्दै उपलब्ध जलभण्डार र पानीको गुणस्तरको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भएको बताउदै उनले भूमिगत जलस्रोतको संरक्षण र संवर्धनमा आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउन सबैमा आह्वान गरेका छन् ।

प्रधानमन्त्री देउवाले शुभकामना मार्फत संरक्षणको जिम्मेवारीलाई प्रभावकारी तवरले कार्यान्वयनमा उतार्न अन्तर निकाय समन्वय, सूचना प्रणालीको सुदृढीकरण, जलस्रोतको समन्यायिक वितरणका साथै यस विषयमा प्राज्ञिक अध्ययन, अनुसन्धान र प्रभाव विश्लेषणलगायतका कार्यलाई निरन्तर सञ्चालन गर्न आवश्यक हुने बताएका छन् ।

यसैगरी, सरकारको एकल प्रयासले मात्र भूमिगत जलस्रोतको संरक्षण र दिगो विकास लक्ष्यअन्तर्गत खानेपानी तथा सरसफाइसम्बन्धी लक्ष्य हासिल गर्ने प्रयास पर्याप्त नहुने हुँदा यस कार्यमा सबैको सहयोग, सहकार्य र समन्वय आवश्यक रहेको पनि उनले बताए ।

साथै, प्रधानमन्त्री देउवाले मुलुकमा सङ्घीय शासन व्यवस्था लागू भएपश्चात् एकीकृत जलस्रोत व्यवस्थापन, पानीको न्यायोचित र समुचित व्यवस्थापन, स्रोतको समन्यायिक वितरणलाई मूल ध्येय राखी जलस्रोत नीति, २०७७ तयार भई कार्यान्वयनमा आइसकेको अवगत समेत गराएका छन् ।

LEAVE A REPLY