साझाट्युव : १५ साउन, काठमाडौं ।
धेरै नै बिबादितमा रहेका जनार्दन शर्मा फेरि अर्थमन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकटका एक पोलिटब्युरो सदस्यका अनुसार माओवादीले शर्मालाई नै अर्थमन्त्री बनाउनका निम्ति नाम पठाइसकेको छ ।
शर्माको शपथको कार्यक्रम प्रधानमन्त्री तथा राष्ट्रपतिको कार्यालयले तय गर्ने उनले जानकारी दिएका छन् ।
अनधिकृत मानिसहरुलाई अर्थमन्त्रालयभित्र लिएर करका दरमा हेरफेर गरेको भनेर विवादमा आएपछि उनले अर्थमन्त्री पदबाट नै राजीनामा दिएका थिए ।
बिगत समयबाट नै शृंखलाबद्ध विवादास्पद रहिरहेका अर्थमन्त्री जनार्दन शर्मा फेरि विवादमा तानिएका थिए । बजेट निर्माणको अन्तिम दिन अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराई राजस्वका दर हेरफेर गरेको विषय सम्बन्धमा अन्नपूर्ण पोस्ट दैनिकले सोमबार खुलासा गरेपछि अर्थमन्त्री शर्मा थप विवादमा तानिएका थिए ।
अर्थमन्त्री शर्माद्वरा केही व्यवसायीलाई अनुकूल हुने गरी राजस्वका दरहरू हेरफेर गरिएको आरोप लागेको थियो । करको दर हेरफेर गर्न बजेट भाषणको अघिल्लो रात (जेठ १४ गते) राजस्व प्रशासनमा लामो समय काम गरेर अवकाश भएका नायब सुब्बा रघुनाथ घिमिरे र अर्का एक चार्टर्ड एकाउन्टेन्टलाई उनले अर्थ मन्त्रालयमा प्रवेश गराएको उनलाई आरोप लागेको थियो ।
यो अगाडी पनि पदीय मर्यादालाइ बिर्सेर विभिन्न विवादास्पद काम गरेपछि उनी आलोचित बन्दै आएका हुन् ।