बैशाख २७ गते साँझ ७ बजेदेखि नेपाल–भारत सीमा बन्द हुने

148

साझाट्युव : वैशाख २२,नवलपरासी

यही बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा बैशाख २७ गतेदेखि बन्द हुने निर्णय भएको छ ।

हिजो सम्पन्न चितवन, पूर्वी नवलपरासी, पश्चिम नवलपरासी र भारत बिहार प्रदेशअन्तर्गत पर्ने पश्चिम चम्पारन गरि ४ जिल्लाका सुरक्षा अधिकारीहरूको बैठकले बैशाख २७ गते साँझ ७ बजेदेखि सीमानाका बन्द गर्ने निर्णय गरेको हो ।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जनाए अनुसार स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सीमा क्षेत्रमा रहेका भारतीय सुरक्षा अधिकारीहरूको पनि सहयोग आवश्यक रहेकाले बैठक आयोजना गरिएको हो।

निर्वाचनमा सीमा क्षेत्रबाट अवैध हातहतियार भित्रिन सक्ने र त्यसले निर्वाचनलाई बिथोल्न सक्ने भएकाले त्यसको नियन्त्रणका सीमा क्षेत्रमा गस्ती बढाएर निगरानी गर्ने निर्णय पनि बैठकले गरेको छ ।

त्यसबाहेक सीमा क्षेत्रबाट भित्रिने लागुऔषध, मानव बेचविखन र तस्करी नियन्त्रणका विषयमा पनि गम्भीर छलफल भएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो । सीमा बन्द भए पनि वैवाहिक कार्यक्रम र एम्बुलेन्सलाई भने आवतजावत गर्न दिइनेछ ।

LEAVE A REPLY