साझाट्युव : चैत २१ ,काठमाडौं।
भन्सार एजेन्टको परीक्षा आउने वैशाखमा सञ्चालन हुने भएको छ ।
विज्ञापनको एक वर्षपछि भन्सार विभागले सार्वजनिक सूचना जारी गर्दै आगामी १७ वैशाखका लागि लिखित परीक्षा तय गरेको हो ।
एजेन्टको परीक्षा रोक्न माग गर्दै परेको रिट निवेदनमाथि सुनुवाई गर्दै उच्च अदालत पाटनले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश १३ चैतमा दिएपछि अब परीक्षा हुने भएको छ ।
यसमा आरक्षण व्यवस्था नगरिएको भन्दै क्रिष्टिना थैवले आरक्षण कोटा राख्नुपर्ने मागदाबी गर्दै भन्सार विभागविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेकी थिइन् ।
गत वर्ष चैत १६ मा भन्सार एजेन्ट इजाजत पत्रका लागि दरखास्त भएको थियो भने यसको परीक्षा सोही वर्षको २२ जेठ र २९ माघमा तोकेतापनि दुवै पटक स्थगित भएका थिए । फेरी,यसअघि २८ फागुनमा परीक्षा तय भए पनि मुद्दाका कारण रोकिएको थियो ।
यसअन्तर्गत ६६० पदका लागि साढे ९ हजारले आवेदन दिएको भन्सार विभागले बताएको छ ।