भरतपुर मेयरमा काँग्रेस नेता पौडेलको बागी उम्मेदवार कायमै

288

साझाट्युब:  बैशाख १५, २०७९, काठमाडौ ।

भरतपुर महानगरपालिकाको मेयरको लागि स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेस नेता जगन्नाथ पौडेलले आफ्नो उम्मेदवारी फिर्ता नलिने बताएका छन् । गृहमन्त्री बालकृष्ण खाँणसँगको भेटमा खाँणले गरेको आग्रहलाइ पौडेलले उम्मेदवारी फिर्ता लिनलाइ अस्वीकार गरेका हुन् ।

 

पौडेललाई भेट्न गृहमन्त्री खाँण भरतपुर ७ स्थित पौडेलको आफ्नै निवास पुगेका थिए । गृहमन्त्रीसँगको भेटमा पौडेलले आफूले उम्मेदवारी फिर्ता लिन नसक्ने स्पष्ट रूपमा बताए । आफूले दिएको उम्मेदवारी चितवनवासीको लागि लोकतन्त्र र आफ्नो पार्टीको बचाउका लागि सञ्चालन गरेको अभियानसँग मात्रै सम्बन्धित भएको भन्दै उनले केन्द्रीय गठबन्धनसँग सम्बन्धित नभएको बताए ।

‘मेरो कारणले केन्द्रीय गठबन्धनलाई गाह्रो हुनुपर्ने केही छैन’, उनले भने, ‘परिस्थिती धेरैनै अगाडि बढिसकेको छ । मैले एउटा सामान्य नागरिकका हिसाबले उम्मेदवारी दिए । तपाईहरूले पनि सामान्य कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएछ भनेर बुझ्नुस् भने ।

यदि पार्टीको अनुशासनविपरीत काम गरेको जस्तो लागेमा कारबाही गर्न पनि भनेको उनले बताए । विभिन्न जिम्मेवारी दिन गृहमन्त्रीले प्रस्ताव गरेको संकेत गर्दै उनले के के प्रस्ताव गरे भन्ने कुरा चाही खुलाउन चाहेनन् । आफूलाई कुनै पनि प्रस्तावले नछुने उनले बताए । पहिलो भेटमा पौडेलले उम्मेदवारी फिर्ता नलिने भएपछी फेरि भेट्ने भनेर गृहमन्त्री उनको निवासबाट निस्किएका छन् ।

पौडेलसंग भेट्नुअघि गृहमन्त्री खाँणले काँग्रेसका पूर्व नेता कृष्णलाल सापकोटा र महासमिति सदस्य मिना खरेलसंग पनि भेटेका थिए । सापकोटा र खरेल दुवै जनालाइ उम्मेदवारी फिर्ता गराउन सहयोग गर्नको लागि खाँणको आग्रह अस्वीकार गरेका छन् । गठबन्धनबाट भरतपुरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाललाई उठाउने निश्चित भएपछि पौडेल बागी उम्मेदवार बनेका हुन् । पौडेलले उम्मेदवारी फिर्ता लिन खाँणले गरेको आग्रह अस्वीकार गरेका छन् ।

 

LEAVE A REPLY