मंकीपक्स के हो ? विश्वमा फैलिरहेको मंकीपक्सबाट नेपाल पनि खतरा

295

साझट्युब :१० जेठ, काठमाडौं ।

केही दिनयता अस्ट्रेलियाइजरायल , स्विट्जरल्यान्ड , क्यानडा ,अमेरिका, बेलायत , जर्मन , स्वीडेन , बेल्जियम , स्पेन , पोर्चुगल , फ्रान्स , नेदरल्यान्ड, इटाली जस्ता विकासउन्मुख देशहरूमा मंकीपक्स नामक संक्रमण फैलिरहेको छ ।

विश्व स्वास्थ्य संगठनले यसलाई स्मलपक्स (विफर) कै एउटा प्रजाति भएको जनाएको छ । मंकीपक्स संक्रमणबाट हुने बिमिरा पहिला अनुहारमा देखिन्छ । त्यसपछि विस्तारै शरीरका विभिन्न भागहरू जस्तैः टाउको, हत्केला र पैतालामा फैलिन्छ ।

विश्वमा फैलिरहेको मंकीपक्सबाट नेपालमा पनि खतरा हुनसक्ने भन्दै सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले मंकीपक्सको संक्रमणबाट बच्न व्यक्तिगत सरसफाई र क्वारेन्टाइनमा बस्ने कुरालाई ध्यान दिनुपर्ने बताएका छन् । उनले विदेशबाट आउने नेपाली र विदेशी नागरिकले कम्तिमा दुई हप्ता अनिवार्य क्वारेन्टाइनमा बस्ने, सकेसम्म बाहिरी कुनै पनि सामानहरू नछुने र छोइहाले साबुनपानीले तत्काल सफा गर्न जोड दिएका छन् ।

कस्ता लक्षण देखिन्छन् ?
ज्वरो आउने
टाउको दुख्ने
शरीरमा बिमिरा देखिने
शरीर दुख्ने
थकान महसुस हुने
जीउ सुन्निने
ढाड, टाउको र मांसपेशी दुख्ने

यस्ता लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्ने सहप्रवक्ता अधिकारी बताउँछन् । मंकीपक्स लक्षण देखिएको ५ देखि २१ दिनसम्म निको हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ । अरु व्यक्तिमा सर्ने संभावना पनि यही समयावधिमा नै रहन्छ । संक्रमणको जोखिम विशेषगरी बालबालिकाहरूमा देखापर्ने बताइएको छ । मंकीपक्सले सिकिस्त बनाउने र अस्पताल भर्ना हुने सम्भावना कम रहने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार सन् १९७० मा कंगोबाट सुरु भएको मंकीपक्स संक्रमण त्यसबेला १० वटा अफ्रिकी मुलुकमा फैलिएको थियो । सन् २००३ मा अफ्रिकी मुलुकहरूबाट आयातित कुकुरहरूको माध्यमबाट अमेरिकामा यो संक्रमण फैलिएको थियो । सन् २०१७ मा नाइजेरियामा फैलिएको मंकीपक्सबाट १ सय ७२ जना संक्रमित भएका थिए ।

मंकीपक्स मध्य र पश्चिमी अफ्रिकी देशहरूका घना जंगलमा रहेका जनावरहरूको सम्पर्कमा आउने मानिसहरूमा हुनसक्ने भाइरस हो । संक्रमित बाँदर, मुसा लोखर्केजस्ता जनावरहरूसँग नजिक रहेका व्यक्तिमा मंकीपक्स सर्ने सम्भावना उच्च रहन्छ । ती जनावरहरूको शरीरबाट निस्किएका थुकका छिटा, र्‍याल, तरल पदार्थ आदिबाट सर्छ । मानिसबाट मानिसमा भने थुकको छिटा, खुल्ला छाला, मुख, आँखामा भाइरस परे सर्छ । त्यस्तै, संक्रमितले प्रयोग गरेका लुगा वा सामानबाट पनि सर्न सक्ने जनाइएको छ । यसको संक्रमण भएका दशमध्ये एक जनाको ज्यान जान सक्ने वैज्ञानिकहरूको भनाइ छ ।

LEAVE A REPLY