मनाङमा बस्ती ढाकिने गरी हिमपात

227

साझाट्युव : असोज २०,काठमाडौं ।

मनाङमा वर्षासँगै हिमपात भएको छ। मनाङको ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको पूरै बस्ती ढाकिने गरी हिमपात भएको छ।

हिमपात भएपछि स्थानीय घर बाहिर निस्किन सकिरहेका छैनन्।

ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बुधबार रातिदेखि हिमपात भएको जानकारी दिए।

‘बिहान हिउँ मात्रै परेको थियो। अहिले हिउँसँगै वर्षा भइरहेको छ,’ उनले भने।

हुम्डेदेखि माथिल्लो क्षेत्रमा हिउँ परिरहेकाले चिसो ह्वात्तै बढेको उनले बताए।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले हिउँ परेपछि पर्यटक मनाङमा नै रोकिएका बताए। मनाङ गाउँमा मात्रै ६० को हाराहारीमा बाह्य पर्यटक रहेको उनले जानकारी दिए।

थोराङ्ला पास (५,४१६ मिटर) तर्फ याकखर्क, लेदर, थोराङ्ला फेदी (बेसक्याम्प), हाइक्याम्प लगायतका स्थानमा डेढ सय पर्यटक रहेको अनुमान गरिएको छ।

तिलिचो ताल (४,९१९ मिटर) तर्फ खाङसार, श्रीखर्क, तिलिचो बेसक्याम्पलगायतका स्थानमा पनि पर्यटक छन्।

‘हिमपात र वर्षाका कारण पहिरोको जोखिम भएकाले पर्यटकलाई जहाँ बसिरहेका छन्, सोही स्थानमा सुरक्षित रहन र यात्रा नगर्न आग्रह गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी रवीन्द्र प्रसाद आचार्यले भने।

नार्पाभूमि गाउँपालिकाको मेता (३,५६० मिटर) देखि माथिल्लो क्षेत्र र मनाङ ङिस्याङ गाउापालिकाको हुम्डे (३,३०० मिटर) देखि माथिल्लो क्षेत्रमा हिमपात भइरहेको उनले बताए।

सदरमुकाम चामेदेखि नै डाँडाकाँडामा हिमपात भएको छ। अविरल वर्षाका कारण बेँसीसहर–चामे सडकको खोत्रो, धारापानी, कोत्रो र तिमाङ क्षेत्रमा बाढीपहिराले सडकमा क्षति पुर्‍याएको छ।

सडकमा पहिरो खसेपछि बुधबारदेखि नै यातायात अवरूद्ध छ।

 

राससरासस

LEAVE A REPLY