साझाट्युव : ३१,असार, विराटनगर ।
मोरङ जिल्ला कारागारमा कोरोना देखापरेको छ । विराटनगर महानगरपालिका–८ स्थितमा भएको कारागारमा केही दिनदेखि कोरोना फैलिएको छ ।
कारागारभित्र रहेका १९ जना कैदीबन्दीहरुलाई अत्याधिकमात्रामा ज्वरो आएपछि बिहीबार कारागार प्रशासनले कोसी अस्पतालमा भर्ना गरेको थियो । भर्ना भएका मध्ये एक जनाको बिहीबार नै मृत्यु भईसकेको छ । भने १८ जना उपचाररत रहेका छन् ।
अस्पताल भर्नाभएको मध्ये १६ जनामा एन्टिजेन पोजेटिभ देखिएको छ । भने दुई जनाको रिपोर्ट नेगेटिभ आएपनि कोरोनासँग मिल्दो जुल्दो लक्षण रहेको छ ।
‘अत्यधिक मात्रामा एकसय डिग्री भन्दा बढी ज्वरो आएका विरामीलाई अस्पताल भर्ना गरिएको छ,कारागार स्रोतका अनुसार भित्र बिरामीहरुको संख्या धेरै रहेको छ’। ’यहाँको क्षमता तीन सय हो,तर यतिबेला कैदीबन्दी एक हजार ८७ जना रहेका छन् ।’
हिजो अस्पताल भर्ना गरेका विरामीको आज एन्टिजेन परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलले जानकारी दिएका छन् । उनले सबैको पीसीआर गर्ने तयारी भइरहेको समेत बताए ।
मृत्यु हुनेमा सुन्दरहरैँचा नगरपालिका–४ का ३९ वर्षीय कैदी नीरबहादुर नेपाल रहेका छन् ।
कोरोनासित मिल्दो जुल्दो लक्ष्यन भएतापनि मृतकको भने कोरोना जाँच गरेको छैन । ज्यान मार्ने उद्योग मुद्दामा कैद सजाय भुक्तान गरिरहेका उनलाई १०४ डिग्री ज्वरो आएको थियो । नेपालको शव बुझेर आफन्तले लगिसकेका छन् ।