वीरगञ्ज महानगरपालिकामा उपमेयरको उम्मेदवारले पाएको मतसंख्या भन्दा बदर बढी

242

साझट्युब : २ जेठ, वीरगञ्ज

वीरगञ्ज महानगरपालिकाको उपमेयर पदमा उम्मेदवारले पाएको भन्दा बदर मतको संख्या बढी भएको छ ।

चारवटा वडाको आठ हजार ७७३ मत गणना हुँदा मेयर पदको दुई हजार ३३९ र उपमेयर पदको चार हजार ८७९ मत बदर भएको हो ।

 

उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले दुई हजार ८३३ र लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तम लाल झाले ४७४ मत प्राप्त गरेका छन् । तर बदर मत भने उम्मेदवारले पाएको मत भन्दा पनि दुई हजार ४६ बढी मत अर्थात चार हजार ८७९ भएको हो ।

चारवटा वडाको आठ हजार ७७३ मत गणना हुँदा मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंहले चार हजार २६८ मत ल्याएका छन् भने सिंहको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयकुमार सरावगीको एक हजार ९३९ मत रहेको थियो । राप्रपाका गिरीश गिरीले १३८ मत ल्याएका हुन् ।

वीरगञ्जमा सत्तारुढ गठबन्धनले मेयरमा जसपा उम्मेदवार र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको थियो । यस्तै नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले पनि मेयर उपमेयरमा तालमेल गरेका थिए । दलहरुको केन्द्रीय नेतृत्वले स्थानीय नेता कार्यकर्ताको इच्छा विपरीत तालमेलको निर्णय हुँदाको असन्तुष्टि मतपत्रमा पोखिँदा बदर मत बढेको नेताहरु जनाएका छन् ।

वीरगञ्जमा लोकतान्त्रिक समाजवादी पार्टी र नेपाली कांग्रेसका स्थानीय नेताहरु गठबन्धन गर्ने पक्षमा कोहिपनि थिएनन् । यसरीनै उनीहरुले भित्री रुपमा आफ्नो दलको प्रतिनिधि भएको पदमा मात्र मत मागेका थिए । मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले उम्मेदवार नभएको ठाउँमा पनि धेरै मत परेको जानकारी दिएका छन् ।

‘उप प्रमुखमा सदर मत भन्दा बदर मत बढी भएको हो | उनले भने मतदाता शिक्षाको अभावको कारण उम्मेदवार नभएको ठाउँमासमेत मत हालेको देखिन्छ’ ।

पौडेल अघि भन्छन्, ‘दलहरुले मलाई भोट देऊ भने, तर कसरी दिने ? भनेर नसिकाएकाले बदर मत बढी भएको देखियो ।’

वीरगञ्जमा दलका प्रतिनिधिहरुले स–सानो कुरामा विवाद गरेर गणनामा ढिलाइ गरिरहेको पनि उनले बताए । ‘कर्मचारीहरुले निन्द्रा, भोक, प्यास नभनी मत गनिरहेका छन्, भने दलका प्रतिनिधिहरु स–सानो कुरामा पनि असन्तुस्टी देखाइरन्हछन् ’, उनले भने, ‘एकातिर मतगणनाले खासै गति लिन सकेको छैन, भने अर्कोतिर कर्मचारीले पनि मतगणना गर्नलाइ मानिरहेका छैनन् ।’

LEAVE A REPLY