समुदायको विरोधपछि पीडित अभिनेत्री मिरुनाले माफी माग्दै

250

साझट्युब : १९ जेठ काठमाडौं ।

‘कबड्डी ४’ अभिनेत्री मिरुना मगरले गत साता भएको ‘दुर्व्यवहार’को घटनालाई लिएर प्रष्टीकरण दिएकी छिन् । दुर्व्यवहार आरोपी धरौटीमा रिहा भएपछि पनि आलोचना नरोकिएपछि पीडित अभिनेत्री मिरुना मगरले आफ्नो कार्य कुनै धर्म र समुदाय विरुद्ध नभएको बताएकी छिन्।

सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै उनले घटनाबाट दुःखित हुनेप्रति क्षमायाचना गरेकी छन् ।

गलत दुर्व्यवहारका विरुद्ध आवाज उठाउन आग्रह गर्दै उनले चुपचाप दुःख नसहन अपील समेत गरेकी छन् । ‘कुनै पनि सही कार्य गर्नुको निम्ति समय गलत हुँदैन,’ उनले भनेकी छन् ।

जेठ १५ गते सिभिल मलको कफी सपमा फुर्पा तामाङले आफूलाई अनुचित ढंगले छोएको आरोप मिरुनाले लगाएकी थिइन् । उजुरीपछि प्रहरीले फुर्पालाई पक्राउ गरेको थियो । तीन हजार रुपैयाँ धरौटीमा रिहा भएका फुर्पाले मिरुनासँग माफीसमेत मागेका थिए ।

मंगलबार बेलुका दुवै पक्षबीच सहमति भएपछि विवाद मत्थर भएको छ ।

उनको धारणा

नमस्ते ।

जेठ १५ गते सिभिल मलमा भएको पछिल्लो घटना र त्यसपछि जेठ १७ गते भएको सम्झौताको सन्दर्भमा म निम्न कुराहरू प्रस्तुत गर्न चाहन्छु।

– फूर्पा तामाङ ले जेठ १५ गते सिभिल मलमा आफूले अनुचित ढङ्गले नै मलाई छोएको र जेठ १७ गतेको दिन आफूबाट भएको यो दुर्व्यवहारको लागी निःस्वार्थ रूपमा माफी मागेको र मैले वहाँको माफी स्वीकार गरेकी छु । सबै पक्षका अग्रज प्रतिनिधि, वरिष्ठ लामा गुरूहरू लगायत दुवै पक्षबाट सहमति भएको हो । जेठ १५ मा भएको मेरो कार्य कुनै पनि धर्म र समाज विरुद्ध नभई ब्यक्ती विरुद्ध भएता पनि यस घटनाबाट जान आन्जानमा दुखित हुनुहुने बृहत् समुदायमा म हार्दिक क्षमा याचना गर्दछु ।

– यस कठिन समयमा मलाई दिनुभएको अपार समर्थन र हिम्मत अनि मायाको लागी म मेरा सम्पूर्ण सहयोगी मन, प्रशंसकहरू, आफन्तहरू र नेपाली दर्शकहरू सबैमा हृदय देखी कृतज्ञता प्रकट गर्दछु।

– तपाईँहरू मध्ये धेरैले मसँग बाँड्न आउनु भएको मेरा जस्तै घटनाका कथाहरूबाट म अत्यन्तै प्रभावित भएकी छु । यो समयमा यी कथाहरू बाट साहस जुटाउन सकेकोमा म तपाईँहरूको प्रशंसा नगरी रहन सक्दिन। चुपचाप आफूले कहिल्यै दुख नसहनुहोस् र गलतको विरुद्ध जहिलै लडनुहोस, अहिलेलाई जति नै कठिन भए पनि भोलिको दिन परिवर्तन अवश्य होला !

“कुनै पनि सही कार्य गर्नुको निम्ति समय गलत हुँदैन.”

LEAVE A REPLY