सेनेटरी प्याड निःशुल्क वितरण साथै सुरक्षा निकायहरूमा महिलाहरूको सहभागिता बढाउन सरकारको तयारी

260

साझट्युब : ४ जेठ, काठमाडौं ।

सबै महिलालाई महिनावारीमा लगाइने प्याडको निःशुल्क व्यवस्था गर्ने सरकारको तयारी रहेको छ ।

आज बुधबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले महिनावारीको समयमा महिलाले समस्या भोग्ने गरेकाले अब सबै महिलाहरूलाई निःशुल्क प्याडको व्यवस्था गर्ने बताउनुभएको हो ।

सरकारले अहिले विद्यालयहरूमा निःशुल्क सेनेटरी प्याड वितरण गर्दै आएको छ । यद्यपि त्यसको गुणस्तरीयतामा प्रश्न उठ्दै आएको छ ।

उपाध्यक्ष पौडेलले पहाडका विद्यालयहरूमा महिला छात्रावासको संख्या बढाउने विषयलाई पनि आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्ने योजना रहेको बताउनुभयो ।

विद्यालय तहका छात्राहरूलाई अध्ययनका लागि सहज बनाउन पनि सरकारले पहाडका विद्यालयहरूमा छात्राबासको व्यवस्था मिलाउनुको विकल्प नरहेको पनि उहाँको भनाइ छ ।

महिला सशक्तिकरणका लागि राष्ट्रिय महिला आयोगको कामलाई प्रभावकारी बनाउने विषयमा पनि आगामी आर्थिक वर्षको बजेटले प्राथमिकता दिने उहाँले बताउनुभयो ।

उहाँले महिला सेल बनाएर आयोगले महिलाहरूको हितमा काम गरिरहेको र त्यसलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पार्नुभयो ।

उपाध्यक्ष पौडेलले महिलाहरूको सुरक्षाका लागि सुरक्षा निकायहरूमा पनि महिलाहरूको सहभागिता बढाउन सरकार लागिरहेको बताउनुभयो ।

LEAVE A REPLY