स्थानीय तहमा पार्टीको अवस्थाबारे १५ चैतभित्र जानकारी गराउन कांग्रेसको देशभर सर्कुलर

341

साझाट्युव : चैत ४,काठमाडौं ।
नेपाली कांग्रेसले स्थानीय तहमा आफ्नो पार्टीको अवस्थाबारे १५ चैतभित्र जानकारी गराउन देशभर सर्कुलर पठाएको छ ।

महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले प्रदेशदेखि वडासम्मका कार्यसमितिको दायित्व बारेमा जानकारी गराउँदै सर्कुलर गरेका हुन्।

महामन्त्रीद्वयद्वारा जारी गरिएको सात पृष्ठको सर्कुलरमा अरु दल विभाजन पश्चात् पार्टीको शक्ति सन्तुलनको जानकारी पठाउन समेत निर्देशन दिइएको छ । यस्तै,कांग्रेस छोडेर अन्य पार्टीमा गएका स्थानीय कार्यकर्ता र त्यसले पारेको पार्टीमा प्रभाव आकलन गरी केन्द्रमा पठाउन भनिएको छ । साथै,वैशाख ३० मा निर्धारित स्थानीय तहको निर्वाचन माहोल र पार्टीले तय गर्नुपर्ने बाटोका बारेमा केन्द्रलाई चैत १५ भित्र जानकारी गराउन भनिएको छ ।

सर्कुलरमा स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर गतिविधि गर्न तल्लो तहका सबै संरचनालाई निर्देशन दिइएको छ । यसैगरी,पेशा, व्यवसाय, अध्ययनका लागि प्रदेश वा केन्द्रीय राजधानीमा गएका नागरिकहरुको तथ्यांक राख्न तथा सम्पर्क गर्न पनि आग्रह गरिएको छ भने पुराना मतदाताको अवस्था सहित नयाँ थपिएका मतदाता सहितको अभिलेख राख्न समेत भनिएको छ ।

साथै,स्थानीय तहलाई आफैं घोषणापत्र बनाउन निर्देशन दिइएको छ भने कांग्रेस विजयी भएका स्थानमा आफूले जितेको स्थानमा पाँच वर्षको अवधिमा गरेका सुधार, उपलब्धि तथा सकारात्मक कार्य घोषणापत्रमा समावेश गर्न पनि सुझाइएको छ । त्यसैगरी,आफू पराजय भएका स्थानमा विजयी दलले गरेका भ्रष्टाचार र अनियमितता देखाउन निर्देशन पनि गरेको छ ।

LEAVE A REPLY