साझाट्युव : बैशाख १४, काठमाडौँ ।
सरकारले विभिन्न १० प्रकारका सामानहरु नेपाल आयात गर्न रोक लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा मंगलबार प्रकाशित गरेको विवरण अनुसार, विलासी उपभोग्य सामान नेपाल भित्र्याउने रोक लगाइएको हो ।
कूटनीतिक नियोगका अधिकारीहरुलाई भने सामान ल्याउन बन्देज लागू नहुने राजपत्रमा उल्लेख छ ।
रोक लगाइएका सामान निम्नअनुसार छन्–
१. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु
२. सबै प्रकारका तयारी मदिरा (कच्चा पदार्थ बाहेक)
३. चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थ बाहेक)
४. हिरा (औद्योगिक कच्चा पदार्थ बाहेक)
५. मोबाइल सेट
६. रंगीन टेलिभिजन (३२ इञ्चभन्दा माथिका)
७. जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शवबाहन बाहेक)
८. मोटरसाइकल २५० सीसीभन्दा माथिका
९. सबै प्रकारका खेलौनाहरु
१०. खेल्ने तास
केन्द्रीय बैंकले आयातमा कडाइ गरेका केही वस्तु नेपालमै उत्पादन हुन्छन्। केही विलासिताका वस्तु आयात नहुँदा पनि उपभोक्तालाई कुनै असर पर्दैन। भन्सार विभागका अनुसार चालू वर्षको ९ महिनामा १० अर्ब ८३ करोडको सुगन्धित सामग्री, शृंगारका सामग्री र शरीर सफाइका (ट्वाइलेट)का सामान आयात भएका छन्।
तेसै गरि चैतमा एक महिनामै १ खर्ब ५७ अर्ब रुपैयाँको आयात भएको विभागको तथ्यांक छ। भन्सार विभागका अनुसार चैतसम्म १४ खर्ब ६६ अर्ब रुपैयाँको आयात भएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ३१.९७ प्रतिशत बढी हो ।