आज नेपालमा पनि विश्व क्षयरोग दिवस मनाइँदै

384

साझाट्युव : चैत १०,काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्व क्षयरोग दिवसको अवसरमा शुभकामना सन्देश दिंदै क्षयरोग लाग्न नदिनेतर्फ र लागिहालेमा सहज उपरचारको व्यवस्था गर्नेतर्फ सरकारले ध्यान दिने बताएका छन् ।

‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔं, जीवन बचाऔं’ भन्ने नाराका साथ आज नेपालमा पनि विश्व क्षयरोग दिवस मनाइँदै छ ।

विश्व स्वास्थ्य संगठनले सन् २०२१ को अक्टोबरमा आयोजना गरेको दक्षिणपूर्वी एसियाका स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा नेपालले समेत क्षयरोग मुक्त देश बनाउने प्रतिबद्धता जनाएको थियो । यसैअनुसार स्थानीय सरकारको नेतृत्व र स्वामित्वमा २५ वटा स्थानीय तहमा चालु आर्थिक वर्षबाट ‘क्षयरोग मुक्त नेपाल घोषणा अभियान ‘ पनि कार्यान्वयनमा आएको थियो ।

प्रधानमन्त्री देउवाको भनाइ अनुसार आगामी आर्थिक वर्षमा अरु थप स्थानीय तहमा पनि यो अभियान लागु गर्ने र आगामी चार वर्षभित्र देशका सबै स्थानीय तहमा अभियान कार्यान्वयनमा ल्याइने छ ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाए अनुसार नेपालमा प्रत्येक वर्ष करिब ६९ हजार नयाँ क्षयरोगी थपिने गरेका छन् । केन्द्रका निर्देशक डा. सञ्जयकुमार ठाकुरले बताए अनुसार यसमा ४० हजार बिरामी सम्पर्कबाहिर रहेको छ ।

यसैगरी,राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षण २०७४ ले नेपालमा नयाँ तथा पुराना गरी एक लाख १७ हजार क्षयरोगी रहेको पनि पत्ता लागेको थियो ।क्षयरोगबाट नेपालमा प्रत्येक वर्ष १६ हजार जनाको ज्यान जाने गरेको समेत सर्वेक्षणले पत्ता लगाको थियो।

नेपाल सरकारले आर्थिक वर्ष २०७८/७९ मा क्षयरोग नियन्त्रणका लागि भनेर ८० करोड रुपैयाँ विनियोजन गरेको छ भने यो क्षयरोगको औषधि सरकारले निःशुल्क उपलब्ध गराउँछ ।

LEAVE A REPLY