साझाट्युव : चैत १०,काठमाडौं ।
निर्वाचन आयोगद्वारा आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि २ करोड मतपत्र छाप्ने तयारी गरेको छ ।
आयोगका सहप्रवक्ता सुर्यप्रसाद अर्यालले बिहिबार आयोगको नियमित पत्रकार सम्मेलन मार्फत करिब १ करोड ७७ लाख मतदाता रहेको र मतदाता संख्या भन्दा १० देखि १५ प्रतिशत मतपत्र प्रकाशन गरिने बताए ।
साथै, उनले मतपत्र छपाइका लागि जनक शिक्षा सामग्री केन्द्रसँग छलफल प्रक्रिया अघि बढाइएको पनि जानकारी दिए । तर, जनक शिक्षालाई दिने निर्णय भने अझै भइसकेको छैन् ।
आयोगले निर्वाचन प्रयोजनका लागि दर्ता भएका तर राष्ट्रिय दलको मान्यता नपाएका ७३ दलको विभिन्न जिल्लामा रहेका उनीहरुको संगठनबारे चैत ६ गतेसम्म बिवरण माग गरेकोमा सो बारे रुजु भइरहेको पनि जानकारी दिए ।
निर्वाचन आचार संहिता कार्यान्वयनका सन्दर्भमा देशका विभिन्न १५ स्थानमा कार्यक्रम आचार संहिता सचेतना कार्यक्रम सञ्चालन समेत भइरहेको छ ।
आयोगले जनाए अनुसार मतदाता नामावली, परिचय पत्र निर्माण सामग्री छपाइका लागि ६ फर्मसँग सम्झौता भएको छ । यसैगरी,मतदाता शिक्षाका लागि निर्वाचन सामग्री उत्पादनका सम्बन्धमा विभिन्न फर्महरुको आवेदन पनि लिएको र त्यसबारे अध्ययन भइरहेको छ ।