साझाट्युव : चैत १७ ,काठमाडौं।
नेपालि सेना अन्तर्गत जंगीअड्डाले ठूलो संख्यामा सैन्य पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
जंगीअड्डा भर्ना छनोट निर्देशनालयले आज बिहीबार सार्वजनिक सूचना जारी गर्दै सैन्य पदको ४ हजार सिटका लागि दरखास्त आह्वान गरेको हो ।
जसअन्तर्गत खुलातर्फ मात्रै २ हजार ९८ सिट छ भने समावेशीतर्फ महिला, आदिवासीरजनजाती, मधेसी, दलित र पिछडिएको क्षेत्रलाई छुट्टै कोटा पनि रहेको छ । जसमा महिलामा ३५८, आदिवासीरजनजातीमा ५७२, मधेसीमा ५०५, दलितमा २७२ र पिछडिएको क्षेत्रका लागि ८५ सिट कायम गरिएको छ ।
यसैगरी, ४ हजारमध्ये ११० सिट सैनिकका सन्ततिका लागि सुरक्षित गरिएको छ भने कर्तव्य पालनको सिलसिलमा अशक्त र मृत्यु भएका नेपाली सैनिकका सन्ततिले उक्त कोटामा प्रतिस्पर्धा गर्न पाउनेछन् ।
यसमा भर्ना हुन् कक्षा ८ उत्तीर्ण भएका तथा १८ वर्ष पूरा गरी २२ वर्ष ननाघेका (बहालवाला उम्मेदवारको हकमा २६ वर्ष ननाघेका) उम्मेदवारले १६ वैशाखभित्र दरखास्त दिनुपर्नेछ ।त्यस्तै, दोब्बर दस्तुर तिरेर २३ वैशाखसम्म दरखास्त दिन सकिने व्यवस्था कायम गरिएको छ ।
त्यस्तै,सैन्य पदका लागि शारिरिक योग्यता पनि कायम छ । पुरुषको हकमा उचाइ न्यूनतम ५ फिट ३ इन्च हुनुपर्ने अनि छाती नफुलाइ ३२ र फुलाउँदा ३४ इन्च हुनुपर्नेछ । तौल कम्तीमा ५० केजी हुनुपर्नेछ ।
साथै,महिलाको हकमा उचाइ ५ फिट कायम गरिएको छ भने तौल न्यूनतम ४० केजी हुनुपर्ने उल्लेख छ ।