साझाट्युव : चैत १९ ,काठमाडौं।
कस्तो एजेन्डा ठीक? उम्मेद्वार को बने जितिन्छ चुनाव? जवाफ जुटाउनैपर्ने चटारोमा छन् दल। वैशाख ३० नेताको परीक्षा, जाँच्ने चाहिँ जनता। नतिजाले बताउने छ नेता र पार्टीको जनाधार। त्यसैले अब्बल सावित गर्नुछ चुनावमा उम्मेद्वार हुनेलाई। यसैको दौड चलिरहेको छ सबैजसो पार्टीमा।
संखुवासभाका दीपेन्द्र वान्तवा पनि यसैको दौडधुपमा देखिन्छन्। किन दिने पार्टीले उनलाई टिकट? खल्तीको मोबाइल झिकेर उनले देखाए अनुसन्धानको रिपोर्ट। रिपोर्ट अरुतिरको होइन, उनी आकांक्षी रहेको नगरपालिका अर्थात् खादबारीको।
‘सबैभन्दा धेरैले अहिलेको आवश्यकतामा शिक्षा, स्वास्थ्य, ढल, सडक र सुशासन चाहेका छन्। यिनै विषय हुन् मेरा। मैले मेट्रो रेलको कुरा गर्दिन,’ आफ्नो एजेण्डा र अनुसन्धानको कनेक्सन सुनाए दीपेन्द्रले।
अनुसन्धान गरेर चुनावमा उम्मेद्वारी
‘जनताको आवश्यकता पहिचान गर्नेले मात्रै वाचा पूरा गर्नसक्छ,’ दीपेन्द्रको चुनावी रणनीति नै हो। मेयरको उम्मेद्वारका लागि आकांक्षी बन्नुअघि उनले अनुसन्धान गराए – स्वतन्त्र रुपमा। काठमाडौंबाट अनुसन्धानका लागि फ्याक्टस नेपाललाई संखुवासभा बोलाए उनले। फ्याक्ट्सका ४४ जनाले जीपीएस सहितको तथ्याङ्क संकलन गरे। घरधुरी ८ हजार छ खादबारीमा। तीमध्ये ११ सयमा गरियो अनुसन्धान। त्यसैको नतिजाका आधारमा एजेन्डा तय गरेर चुनावमा जाने उनको रणनीति छ।
त्यसो त मेयर बन्नकै लागि भने अनुसन्धान गराएका होइनन्। अनुसन्धान नेपाली कांग्रेसका लागि भनेर गरिएको थियो। अहिले त्यही अनुसन्धानको आधारमा टेकेर पार्टीसँग टिकटको लबिङमा छन् उनी। तर, पुराना नेतालाई मनाएर उम्मेद्वार बन्न कम चुनौतीपूर्ण छैन।
‘अब पहिलाका जस्ता मतदाता छैनन्। अहिले थपिएको मतदाताले युवापुस्ता हेर्छन। एजेण्डा हेर्छन्,’ टिकट पाउनुपर्ने आधार पेश गरे उनले।
‘रन्जु दर्शना’ले काठमाडौंमा पाएको मत परिणामलाई ‘केस इस्टडी’का रुपमा लिनुपर्ने मत राख्छन् वान्तवा। विवेकशीलका तर्फबाट काठमाडौं महानगरमा २०७४ सालको स्थानीय तहको चुनावमा मेयरमा भिडेकी रञ्जुले २३ हजार ४ सय ३९ मत ल्याएकी थिइन्। ‘काठमाडौंमा कांग्रेसले किन हार्यो? किन भन्दा रन्जु दर्शनको उमेरका कारण हार्यो। उनले २३ हजार भोट नल्याएको भए जित्थ्यो कांग्रेसले। त्यो भोट कांग्रेसको थियो। कांग्रेसका युवा जमातले ‘योङ’लाई भोट दिनुपर्छ भनेर दियो,’ युवालाई प्राथमिकता दिनुपर्ने आधार सुनाए उनले।
‘अनुसन्धानले मात्रै जितिन्न’
अनुसन्धान गर्दैमा चुनाव जितिन्छ त? जितिन्न। थाहा छ उनलाई। जिते निकालेमा गर्ने कामको सूची पनि छ उनीसँग। ठूला सपना नदेखाउने तर जनता खुशी हुने काम गर्ने उनको चुनावी रणनीति हो। यद्यपि, उनले जनताका लागि आश्वासनका सूची भने तयार पारिसकेका छन्।
‘प्रकृति, सुशासन, संस्कार अबको खादबारीको आधार भनेको छु,’ वान्तवाले चुनावी नारा सुनाए। स्रोतसाधनलाई परिचालन गर्ने र नमुना नगर बनाउने पनि योजना छ उनको। रुद्राक्षको हब नै आफ्नो स्थानीय तह भएकाले त्यसैलाई आधार बनाएर विकासमा फड्को मार्न सकिने बुझाइ छ दीपेन्द्रको। ‘अरुण नदी, जंगल र रुद्राक्षको हिसाबले हब हो। धेरै कारोबार हुने भनेको रुद्राक्ष हो। अलैची सबैभन्दा बढी फलाउने पनि संखुवासभा हो,’ उनले भने।
त्यसो त सबैजसो स्थानीय तह पहिलो ५ वर्षको अवधिमा सुशासन कायम गराउन असफल भए। त्यसको आलोचना भइरहेको पनि छ। त्यस्तो आलोचना खादबारीमा सबैभन्दा धेरै भएको दावी छ वान्तवाको। उनी त्यसैलाई नारा बनाएर चुनाव जित्ने दाउमा छन्।
‘२५ वर्ष भयो हाम्रो नगरपालिका गठन भएको। २५ वर्षमा इटहरी कहाँ पुग्यो? हाम्रो नगरपालिका कहाँ छ?,’ प्रश्नको वर्षा गर्छन् उनी, ‘हाम्रो नगरपालिका २५ वर्ष पहिला जस्तो थियो अहिले पनि त्यस्तै छ। खादवारीको मान्छेलाई तपाईँले सोध्नुभयो खादबारी कस्तो छ भनेर भने यो अनियमितता भ्रष्टाचारको अड्डा हो भन्छन।’
चुनावमा हुने पैसाको चलखेल चुनौती बनिसकेको छ नेपालमा। ‘निर्वाचन आयोगले १० लाखभन्दा कम खर्च गर्नुपर्छ भनेको छ। तर, वडाको अध्यक्ष हुँदाखेरी त्यो भन्दा बढी खर्च गर्ने परिस्थिति छ,’ दीपेन्द्रले भने, ‘हामी कमाउनका लागि त्यहाँ गएका छैनौं भने हामी खर्च गर्न सक्दैनौं। हामी भन्छौं – जसले तपाईँलाई पैसा दिन्छ र खुवाउँछ उसले पछि तपाईँबाट लुट्छ।’
पत्याउला कांग्रेसले?
टिकट पाउन सबैभन्दा चुनौती हो दीपेन्द्रका लागि। चुनाव जित्न जति सहज होला, टिकट पाउन त्यति नै कठिन। तर, टिकट पाउने आधार भने पर्याप्त रहेको दाबी छ वान्तवाको। गएको महाधिवेशनमा कांग्रेसका प्रतिनिधिले युवापुस्तालाई दिएको मतले अहिलेको स्थानीय तहको टिकट वितरणमा प्रभाव पार्ने उनको बुझाइ छ।
‘अहिलेको वातावरण पहिलोभन्दा फरक छ। अहिले त कांग्रेसको केन्द्रीय समितिमा पनि अलमोस्ट योङ मान्छे छन्। युवालाई नलिए पार्टी बलियो हुन्न भन्ने मानसिकता छ। खादबारीमा मलाईमात्रै होइन, काठमाडौंमा सुशन बैद्य लगायतका युवा पोलिटिक्समा आइरहेका छन्। त्यसलाई हाम्रो नेतृत्वले एप्रोसियट पनि गरिरहेको छ,’ वान्तवाले भने।
दलहरुमा पैसा र पावरको दवदवामा मात्र टिकट पाइनेबारे उनले नबुझेका होइनन्। त्यसैलाई तोड्ने र चुनावमा उम्मेद्वार बन्ने चुनौती छ उनका लागि।
‘मेन कुरा के हो भने नेता को हो, राजनीति के हो? भन्ने नबुझ्ने मानिसको राजनीतिमा प्रवेश र उनीहरुको दबदबाको कारणले राजनीति घृणित भएको हो,’ दीपेन्द्रले भने, ‘पैसावाला डनहरु बिचौलियाले गर्दा यस्तो भएको हो। उनीहरुको ध्यान के हो भने राज्यको सम्पत्ति ‘मिस युज’ गर्नेमा हो।’
उनले जिते भने हुन्छ के?
दीपेन्द्र राजनीतिमा आफूलाई अत्याधिक क्षमता भएको मान्छे नमान्न अनुरोध गर्छन्। ठूला योजना अघि नसार्ने, बरु सानातिना कामलाई नै इमान्दारिताका साथ गर्ने उनको योजना छ। उनले खादबारीमा पानीको लागि अहिलेको सरकारले गरेको कामलाई ‘वाइह्यात’ भएको बताए। नेतृत्वमा सोच र योजना नदेखिएको उनको बुझाई छ। अहिले भइरहेको विकासलाई समयक्रममा हुने स्वभाविक विकासमात्रै ठान्छन् उनी।
उनी पार्टीभित्र महामन्त्री गगन थापाबाट प्रभावित देखिन्छन्। थापाको काम गर्ने शैलीको अनुशरण गरेको जस्तो पनि देखिन्छ। काम गर्नुअघि सबै कुराबारे बुझेर गर्दामात्रै सफलता पाइने उनको बुझाई छ। ‘हामीले गरेको रिसर्चलाई जिल्ला समितिले ‘ओन’ गर्छ। तपाईँको समस्या हामीलाई थाहा छ भनेर जान्छौं। सोसल मिडियामा पनि हामीले ‘पुस’ गरिरहेका छौं। अवधारणा र घोषणापत्र घरघरमा पुर्याउने कोसिस गरिरहेका छौं,’ उनले भने।
अखिर राजनीतिमा किन?
वान्तवाको पृष्ठभूमि अलि भिन्न छ। पूर्णकालीन राजनीतिमा लागेको धेरै भएको छैन उनको। ‘टुरिस्ट उम्मेद्वार’को आरोपलाई चिर्नुछ उनले। उनी राजनीतिमा आउनुअघि २ दशक पत्रकारितामा सक्रिय रहे।
च्यानल नेपाल, कान्तिपुर टेलिभिजन हुँदै एपी वान टेलिभिजनमा पत्रकारिता गरेका वान्तवाका लागि कांग्रेसको १४ औं महाधिवेशन राजनीतिमा लाग्ने अवसर बन्यो। महाधिवेशन प्रतिनिधिमा उठ्न उनका छरछिमेकी साथीभाइले हौस्याएपछि उम्मेद्वार बने। दोब्बर मतले जितेर प्रतिनिधि बने। त्यसपछि उनले पत्रकारिता छाडे।
‘माथिमात्रै राम्रो भएर हुन्न। अहिले सबैचिज स्थानीय तहमा त्यहाँको सरकार राम्रो भए मात्रै डेलिभरी ठिक हुन सक्छ। त्यसैले मैले अरु ठाउँमा भन्दा पनि स्थानीय तह छानेको हुँ,’ उनले सुनाए। राजनीतिमा जानुको अर्को कारण हो उनीका साथी सर्कल। आफूसँग एक्सपर्ट टिम भएको र त्यसले समाजसेवामा राम्रो योगदान गर्ने भएकाले पनि राजनीतिमा छिरेको वान्तवाको तर्क छ।
पत्रकारिताबाट राजनीतिमा होमिने वान्तवा नौलो पात्र भने होइनन्। पत्रकारितामा जमेर राजनीतिमा लाग्नेहरु पनि धेरै छन् छन्। अघिल्लो पुस्तामा जयप्रकाश गुप्तादेखि रघु पन्तसम्म पत्रकारिताबाट राजनीतिको मुलधारमा छिरेका हुन्। यी दुवैले पत्रकारिता र राजनीतिलाई समानान्तर रुपमा अगाडि बढाएका थिए। पछिल्लो समयमा बीबीसी नेपाली सेवाबाट जागिर छाडेर साझा पार्टी गठन गरेका रवीन्द्र मिश्र पनि पूर्व पत्रकार नै हुन्।
मिश्रसँग आफ्नो तुलना गर्न चाहन्नन् वान्तवा। मिश्रको बिचारमै संक्रमण आइसकेको उनको बुझाई छ। ‘दक्षिणपन्थी धार समात्नु भएको छ। नेपाली जनताले ल्याएको संघीयताको उहाँले विरोध गर्न थाल्नुभयो। उहाँले संविधानलाई च्यालेन्ज गर्नुकुरा ठीक हो कि होइन, उहाँले बुझ्नुपर्छ। हामी पपुलारिटीका लागि जे पनि गर्न सक्दैनौं,’ वान्तवाले भने।
राजनीति एक समाजसेवा
वान्तवालाई मध्यम वर्गीय परिवारकै सदस्य हुन्। श्रीमती फार्मेस्ट छन्। काठमाडौंमा घर छ, गाउँमा पनि। आम्दानीको श्रोत उनले बनाएका छन्। केही कम्पनीमा लगानी पनि छ। बुझेका छन्, राजनीति पेशा होइन उनको।
राजनीतिलाई आम्दानीको श्रोत बनाउनेभन्दा सेवा गर्ने माध्यम बनाउने दाबी गर्छन् उनी। समाजसेवा गर्नकै लागि पत्रकारिता र त्यसपछि अहिले राजनीतिमा होमिएको मत छ उनको। ‘पत्रकारिता पनि समाजसेवा नै हो। पत्रकारिता पनि राजनीतिबाट टाढा रहन सक्दैन। म कुनै न कुनै हिसाबले समाज सेवामै थिए। तर, अब राजनीतिमा लागेपछि पत्रकारितालाई निरन्तरता दिइरहन ठीक देखिन,’ उनले भने।
उम्मेदवार हुनु र जित्नु फरक विषय। दीपेन्द्रसामु चुनाव र मतदानभन्दा अगाडि पार्टीबाट उम्मेदवारी पाउनु पहिलो चुनौती हो। राजनीतिमा विगतको ब्याज खानेहरुको सूची लामो छ। पार्टी संयन्त्रमा त्यो सूची प्रभावी पनि छ। दीपेन्द्रलाई पत्रकारिता छाड्न जति सजिलो थियो, टिकट पाउन त्यति सजिलो छैन। र, कांग्रेसको नेतृत्वमा गगन थापाको पुस्तामात्र छैन; विगतको राजनीतिको ब्याज खाने ‘ढाडे’हरु उत्तिकै छन्। दीपेन्द्रको परीक्षाभन्दा यस विषयमा कांग्रेसभित्र गगन पुस्ता हावी हुने कि ब्याज खाने ‘ढाडे’हरु? उत्तर पाउन केही समय कुर्नैपर्ला।
यो समाचार पहिलोपोष्ट डटकमबाट लिइएको हो।