सत्ता गठवन्धनले गरे चितवनका ६ पालिकामा भागवण्डा

154

साझाट्युव : बैशाख ८, चितवन।

बुधबार, दिउँसो बसेको सत्ता गठबन्धन आवद्ध दलहरूको बैठकले भरतपुर महानगरबाहेकका ५ नगरपालिका र १ गाउँपालिकाको प्रमुख तथा उपप्रमुखको खाका तयार गरेका छन् । जसअनुसार कांग्रेसले ४ पालिकाको प्रमुख र ३ पालिकाको उपप्रमुख पाउने छ ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले बताए अनुसार कांग्रेसले खैरहनी नगरपालिका, रत्ननगर नगरपालिका, कालिका नगरपालिका तथा इच्छाकामना गाउँपालिकाको प्रमुख पाउने मोटामोटी सहमति भएको हो । कांग्रेसको भागमा परेको कालिका, रत्ननगर र खैरहनी यसअघि एमालेले जितेका पालिका हुन् ।

कांग्रेसले भरतपुरबाहेक माडी, राप्ती र इच्छाकामनाको उपप्रमुख पाउने छ ।

उम्मेदवारमा सहमति जुटाएर संयुक्तरुपमा चुनाबी प्रचारमा जाने तयारी छ । बिहीबार पुनः बैठक बसेर पालिकाहरुको भागबन्डालाई औपचारिक रुपमा टुंगो लगाउने कांग्रेस जिल्ला सभापति खनालले जनाए । उनले पालिकाको नेतृत्व टुंगो लगाएपछि वडाहरुमा समेत भागबन्डा गरेर सहमतिमा पुग्ने बताए ।

यस्तै, माओवादी केन्द्रले भरतपुर महानगरसहित माडी नगरपालिकाको प्रमुख र खैरहनी र कालिका नगरपालिकाको उपमेयर पाउनेछ ।

र एकीकृत समाजवादीले राप्ती नगरपालिकाको प्रमुख पाउने छ र रत्ननगरको उपप्रमुख पाउनेछ ।

भरतपुरमा केन्द्रले प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा नेपाली कांग्रेसले पाउने गरी सहमति भैसकेको छ ।

माओवादीले खैरहनी र कालिका नगरपालिकाको उपमेयर पाउनेछ ।

इच्छाकामना गाउँपालिकाको उपप्रमुखमा माओवादीले दाबी गरिरहेको छ । तर कांग्रेसले यसअघि गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै कांग्रेसले जितेकाले केन्द्रीय नीति अनुसार अरुलाई छाड्न नसकिने जनाएको छ ।

इच्छाकामनाको अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेसले लिने कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जनाए ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा चितवनमा सत्ता गठबन्धन दलहरुको चुनावी तालमेल र सिट बाँडफाँट समिति बनेको छ ।

समितिमा नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक रामचन्द्र अधिकारी, नेकपा समाजवादीका इन्चार्ज कृष्ण खनाल, जसपाका अध्यक्ष प्रेम भुजेल, राष्ट्रिय जनमोर्चाका डम्बर पुरी, नेकपा माओवादी केन्द्रका यमबहादुर परियार, नेकपा समाजवादीका सूर्यप्रसाद शर्मा र नेपाली कांग्रेस चितवनका सचिव ध्रुवराज पोखरेल सदस्य रहेका छन् ।

LEAVE A REPLY