आयोगले गर्यो सबै जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

152

साझाट्युव : बैशाख ८, काठमाडौँ ।

निर्वाचन आयोगले देशका ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । यस्तै ६ सय ७६ वटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको आयोगले जनाएको छ ।

 

बिहिबार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतले जिल्ला सदरमुकाम, गाउँपालिका र नगरपालिकाको केन्द्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ६ सय ७६ पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको जानकारी गराए ।

हरेक जिल्लामा एक जना मुख्य निर्वाचन अधिकृत हुन्छन् । मुख्य निर्वाचन अधिकृतले जिल्ला सदरमुकाम रहेको गाउँपालिका वा नगरपालिकाको केन्द्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नेछन् । अन्य पालिकामा निर्वाचन अधिकृतको कार्यालय रहनेछन् ।

 

निर्वाचन अधिकृतको कार्यालय सञ्चालन तथा व्यवस्थापन खर्च २ लाख ५५ हजार रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने २ लाख ८५ हजार रुपैयाँ बजेटको सिलिङ दिइएको छ । कार्यालयको सुरक्षामा बढीमा १० जनासम्म सुरक्षाकर्मी परिचालन हुनेछ । कार्यालयमा खटिने नियुक्ति भएदेखि सुविधा पाउनेछन् । मुख्य निर्वाचन अधिकृतले जिल्लाभरिको स्थानीय तहमा समन्वय गर्न प्रत्येक स्थानीय तहको एक हजारका दरले भत्ता पनि पाउनेछन् ।

 

निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, सहायक कर्मचारी, लेखापाल, कम्प्युटर अपरेटर, सवारी चालक, कार्यालय सहयोगी, पीएसओ (निजी सुरक्षा अधिकारी) सहित नौ जना कर्मचारी रहनेछन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पनि नौ जनै कर्मचारी रहनेछन् ।

 

 

LEAVE A REPLY