
साझाट्युव : बैशाख १२, काठमाडौँ ।
विसं २०७२ वैशाख १२ गते मध्याह्न ११:५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।आज भूकम्पको सातौँ वर्ष पुगेको दिन हो ।
भूकम्पले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गा जिल्लामा बढी प्रभाव पारेको थियो ।भूकम्पपछि सरकारले राष्ट्रिय योजना आयोगको अगुवाइमा सङ्कलन गरेको तथ्यांक अनुसार त्यो भूकम्पमा ८ हजार ८ सय ९१ जनाभन्दा बढीको मृत्यु भएको थियो ।
२०७२ को भूकम्पले केवल संरचना मात्र बिगारेन कि हाम्रा पहिचान अनि ऐतिहासिक धरोहरलाई पनि उत्तिकै विनाश गरेको छ ।
अति प्रभावित १४ र कम प्रभावित १८ जिल्लामा गरी आठ लाख बढी निजी आवासमा क्षति पुगेको थियो । भूकम्पले करिब एक हजार ५०० सांस्कृतिक सम्पदामा क्षति भएको थियो ।
अति प्रभावित र प्रभावित जिल्लाका विद्यालय, स्वास्थ्य संस्था, सुरक्षा निकायका भवन, सडक र खानेपानी आयोजनामा भूकम्पले क्षति पुगेको थियो ।
सात वर्षअघिको भूकम्पले क्षति पुगेका संरचनाको पुनःनिर्माण गर्न २०७२ पुसमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको स्थापना भएको थियो ।
काष्ठमण्डप जसको नामबाट काठमाडौँ सहर रहन गयो । त्यही संरचना नै धोस्त बनाएको भूकम्पले धरहरालाई पनि ढालेको थियो । करिब ७ वर्षपछि वर्ष २०७९ मा आइपुग्दा काष्ठमण्डप र धरहरा फेरि उभिएको देख्न सकिने भएको छ । दरबार स्क्वायरहरु अब फेरि उभिएको देखिन थालेको छ ।