इन्टरनेट ब्यान्डविथ आयातको शुल्क भुक्तानी सरकारले डलर उपलब्ध गराउने

161

साझाट्युव : वैशाख २०, काठमाडौं ।

ईन्टरनेट सेवा प्रदायकहरूलाई विदेशबाट ब्यान्डविथ खरिद गरे वापतको शुल्क भुक्तानीका लागि डलरको सटही सुविधा दिने भएको छ। योसँगै इन्टरनेट सेवा प्रदायकहरुले घोषणा गरेअनुसार आगामी सातादेखि इन्टरनेटमा अवरोध नगर्ने भएका छन् ।

नेपालमा प्रायः इन्टरनेट सेवा प्रदायकहरुले भारतको एयरटेल र टाटाबाट इन्टरनेट ब्यान्डविथ किन्ने गरेछन् ।

सरकारले बेरुजुको कारण देखाएर सटही सुविधा रोक्दा नेपालमा इन्टरनेट ब्यान्डविथ बेच्दै आएका भारत टाटा र एयरटेल कम्पनीबाट आपूर्ति रोक्न सक्ने चेतावनी दिएका थिए । त्यसैका आधारमा इन्टरनेट सेवा प्रदायकले पनि सेवा रोक्ने भन्दै आन्दोलनको घोषणा गरेका थिए ।

५ महिनादेखि ब्यान्डविथ आयात गरेबापतको शुल्क नतिरेपछि भारतीय विक्रेता कम्पनीबाट चेतावनीयुक्त पत्र आउन थालेको इन्टरनेट नेटवर्क सेवा प्रदायकहरुको भनाइ थियो ।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)का अध्यक्ष सुधीर पराजुलीका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अब डलरको सटहीका लागि सिफारिस गर्ने सहमति भएको छ । सहमति लिखित नभएपनि अब रोकिएको रकमको भुक्तानी गर्न बाटो खुलाउने र सेवा प्रदायकले बेरुजुको व्यवस्थापन गर्ने गरी समझदारी बनेको छ ।

LEAVE A REPLY